कृषिका अनुदान कार्यक्रमलाई एकरुप बनाउन जोड 

कृषिका अनुदान कार्यक्रमलाई एकरुप बनाउन जोड 

काठमाडौँ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग समन्वयात्मक बैठक राखेर देशैभर सञ्चालित कृषि तथा पशुपक्षी सम्बन्धी परियोजनाहरूको प्रभावकारिताको समीक्षा गरेको छ। 

कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालको उपस्थितिमा सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री तथा सचिवको उपस्थितिमा बैठक बसेको थियो।

बैठकमा कृषि मन्त्री अर्यालले विगतका दिनहरूमा काम गर्ने क्रममा भएका कमजोरीलाई सच्याउँदै अगाडी बढ्नुपर्ने बताएकी थिइन्। उनले सरकारले लिएको लक्ष्य पुरा गर्न कृषि क्षेत्रका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताएकी थिइन्।

स्थानीय स्तरमा कार्यक्रम सञ्चालन हुने भएकाले स्थानीय पालिकासँगै प्रदेशको विशेष भूमिका हुनुपर्ने भन्दै उनले एकरूपता नभएका कार्यक्रमहरूलाई व्यवस्थापन गर्दै जान आवश्यक रहेको बताइन् ।

‘नीति निर्माण गर्ने निश्चित समयसीमा तोकिएका कारण हतारमा काम गर्नुपर्दा केही कुराहरू नमिलेका होलान्। तर ती कुराहरू अकाट्य हुँदैनन्। त्यसलाई परिवर्तन गर्ने, नमिलेका केही कुराहरू मिलाउने काम हुन्छ’, मन्त्री अर्यालले  भनिन्, ‘स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने भएकाले कृषि कार्यक्रममा विशेष ध्यान दिन आवश्यक छ । प्रदेशबाट सञ्चालन हुने कृषि परियोजनाहरू हेर्न लायकका हुनुपर्छ ।’

बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रधानमन्त्री कृषि आधुनिकिकरणलाई थप प्रभावकारी बनाउन सके सरकार तथा समग्र कृषि क्षेत्रमा ठुलो प्रगति गर्न सकिने बताए । उनले कृषिका अनुदान कार्यक्रमलाई एकरूपता ल्याउनुपर्नेमा जोड दिएका थिए। 

त्यस्तै कृषि बिमा कार्यक्रमको प्रभावकारिता नभएको भन्दै पशुतिर केही प्रभावकारी भए पनि कृषितिर भने त्यसले प्रभावकारिता पाउन नसकेको लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलको भनाई थियो । प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सङ्घीयता कार्यान्वयन गर्नका निम्ति नीति निर्माण गर्दा ध्यान दिनुपर्ने भए पनि त्यसमा केही त्रुटि हुन गएको बताए। सबै प्रवेशका आ–आफ्ना विशेषताहरू रहेको भन्दै उनले आयात प्रतिस्थापन ऐनकै रूपमा लिनुपर्ने बताए  ।

फागुन २१, २०७७ शुक्रबार २०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।