विप्लव हेर्न सभागृह अगाडि पुगेको भिड

विप्लव हेर्न सभागृह अगाडि पुगेको भिड

काठमाडौँ : सरकारसँग तीन बुँदे सहमति भएपछि २ वर्षदेखिको भूमिगत जीवन त्याग्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव शुक्रवार राष्ट्रिय सभा गृहमा सार्वजनिक भए। उनी महानगरीय प्रहरी परिसर काठमाडौँ एसएसपी अशोक सिंहको सुरक्षा घेरामा सभा गृहमा पुगेका थिए।

विप्लव आउँदै छन् भन्ने सूचनाको आधारमा १२ बजेबाटै सभा गृह अगाडि सर्वसाधारण भेला हुन थालेका थिए। विप्लव साढे २ बजेतिर सभा गृह पुग्दा सभा गृह परिसर र बाहिर सडक भरिइसकेको थियो। उनलाई हेर्न भेला भएका समूहलाई उनले हात हल्लाउँदै सभा हलभित्र प्रवेश गरेका थिए।

सभा हल भित्र प्रवेश गर्न निकै कडाइ गरिएको थियो। प्रहरीले सुरक्षा जाँचमा कडाइ गर्दै कालो रगंका कुनै सामान भित्र लैजान दिएको थिएन। प्रारम्भमा सञ्चारकर्मीहरूलाई प्रवेश गराएको सुरक्षाकर्मीले सर्वसाधारणलाई भित्र जान निकै कडाइ गरिरहेको थियो। 

सरकार र विप्लवबिच सहमति भएको दृश्य प्रत्यक्ष हेर्न सभा हलमै जान चाहने सबैको इच्छा पुरा हुन सकेन। सीमित व्यक्तिहरूलाई पनि सुरक्षाकर्मीले प्रवेशको अनुमति दिएको थियो। जो–जो हलभित्र जान सकेनन् उनीहरूका लागि सभा गृह बाहिरको चौर नजिकै स्क्रिन राखिएको थियो। 

हलभित्र जान नसकेकाहरू त्यही स्क्रिन हेरेर चित्त बुझाइरहेका थिए।

कार्यक्रम हललाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्नो घेरामा लिएको थियो। हलको चारैतिर प्रहरी र सशस्त्रको घेराबन्दी थियो।

फागुन २१, २०७७ शुक्रबार १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।