खुमलटारले झम्सिखेललाई हरायाे

काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले जित हासिल गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज (आइतबार) सम्पन्न खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।
खुमलटारलाई जित दिलाउन महेश राईले निर्णायक गोल गरे। राईले खेलको तेस्रो मिनेट गोल गरे।
जितसँगै खुमलटारले ८ खेलबाट १९ अंक जोडेको छ। उसले शीर्ष स्थानको सातदोबाटो क्लबसँग अंक बराबरी गरेको छ। सातदोबाटोको भने ७ खेलबाट १९ अंक छ।
झम्सिखेलले ८ खेलबाट ६ अंक मात्रै जोडेको छ। ऊ अंकतालिकाको दसौं स्थानमा छ।
आजै भएको अर्काे खेलमा ब्वाइज युनियन क्लबले नयाँ बस्ती युवा क्लबलाई ३–० गोल अन्तरले हराएको छ।
ब्वाइज युनियनका लागि मिलन लिम्बुले ह्याट्रिक गरे। जितसँगै ब्वाइज युनियनले ८ खेलबाट १४ अंक हासिल गरेको छ। ऊ अंकतालिकाको चौथो स्थानमा छ।
नयाँ बस्ती ८ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा छ।
फागुन १६, २०७७ आइतबार २२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।