प्रहरी आइजिपीको निर्देशन : विनम्र हुनुस् तर कमजोर नहुनुस्
भैरहवा : नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकप्रति विनम्र व्यवहार गर्न निर्देशन दिएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरी विनम्र भएन भनेर गुनासो आउने गरेको भन्दै ‘विनम्रता भनेको कमजोरी होइन, विनम्र हुनु कमजोर हुन होइन’ भने।
‘कमजोर मान्छेले कडा कुरा गर्छ, असल मान्छेले राम्रो काम गर्छ, विनम्र हुनुस् र कमजोर नहुनुस्,’ उनले निर्देशनदिँदै भने‘ यो मेरो स्पष्ट निर्देशन पनि हो।’
उनले नागरिकले सहयोग नगरेसम्म प्रहरीले अपराध नियन्त्रण र रोकथाम गर्न नसक्ने बताउँदै अपराध न्यूनीकरणमा नागरिकले साथ दिँदा समाज सुरक्षित हुने बताए।
लामो समयदेखि भाडाको घरमा बस्दै आएको ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ मा नयाँ भवन बनेको हो । भैरहवाका उद्यमी तथा व्यवसायीको सक्रियता एवं जनसहभागितामा करिब २ कट्टा क्षेत्रफलमा अढाई तले भवन निर्माण गर्दा १ करोड ५२ लाखको लागत लागेको छ।
फागुन १६, २०७७ आइतबार १७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।