सेयर बजारलाई फापेन संसद् पुनर्स्थापना, ८० अङ्कको पहिरो गयो

काठमाडौँ : यो साताको पहिलो दिन आइतबार सेयर लगानीकर्ताको लागि फलिफाप हुन सकेन। निरन्तर उकालो लागिरहेको सेयर बजारमा आइतबार ८० अङ्कको पहिरो गयो। सेन्सेटिभ इन्डेक्स १४ अङ्कले घट्दा ४ सय ४७ बिन्दुमा बन्द भयो आजको बजार।
आइतबार नेप्से र सेन्सेटिभ दुवै सूचक ३ प्रतिशत बढिले घट्दा बजार २ हजार ४ सय ७४ बिन्दुमा ओर्लिएको छ।
प्रारम्भमा ५ अङ्कसम्म बढेको थियो बजार। तर त्यसपछि ओरालो लागेको लाग्यो भयो। गत आइतबार सेयर बजार २ हजार ६ सय ४० बिन्दुमा बन्द भएको थियो।
गत बिहीबार र यो आइतबार गरी दुई दिनमा मात्रै बजारमा १ सय २५ अङ्कको गिरावट आयो। आइतबार चन्द्रागिरि हिल्स र शिखर इन्स्योरेन्सबाहेक सबै कम्पनीको सेयर मूल्य घट्यो।
संसद् विघटन हुँदा सेयर बजारमा त्यसको असर देखिएको थिएन। तर सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना भएसँगै त्यसको असर सेयर बजारमा देखिन थालेको छ। केहीले अहिले सेयर बजार ओरालो लाग्नुको कारण अफवाह रहेको दाबी गरिरहेका छन्। केहीले भने संसद् ब्युँतिए पनि राजनीतिक गतिरोध हल हुनुको साटो थप जटिलतातिर लम्किएकाले त्यसको असर सेयर बजारमा परेको मत छ।
फागुन १६, २०७७ आइतबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।