‘लिटल फ्लावर प्रिमियर लिग’को पाँचौ संस्करण सुरु, उद्घाटन खेलमा विद्या भूषण विजयी

काठमाडौं : विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ‘लिटल फ्लावर प्रिमियर लिग’को पाँचौं संस्करण आज (शनिबार)बाट धनगढीमा सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन धनगढी उपमहानगरपालिकाका प्रमुख नृप ओडले गरे।
प्रतियोगिताको उद्घाटन खेलमा कैलालीको गेटास्थित विद्या भूषण विजयी सुरुवात गरेको छ।
धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा आज सम्पन्न खेलमा विद्या भूषण स्कुलले धनगढीको लिटल फ्लावर स्कुललाई ७ विकेटले पराजित गरेको हो।
१ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको विद्या भूषणले १७.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे। विद्या भूषणका सुरुवाती ब्याट्सम्यान शेर मल्ल र वीरेन्द्र नाथले १ सय २२ रनको साझेदारी गरेपछि उसले सहजै जित हासिल गरेको हो। मल्लले ७० र नाथले ३७ रन बनाए। यस्तै, नरेन साउदले अविजित रहँदै २६ रन जोडे।
बलिङतर्फ लिटल फ्लावरका राजकुमार शाहले २ र विपिन रावलले १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो। उस्का लागि सुवास ऐरले ३७ र नरेन भट्टले ३६ रन जोडेका थिए। यस्तै, विपिन रावलले १५ र राजकुमार शाहले १२ रनको योगदान दिएका थिए।
बलिङमा विद्या भूषणका शेर मल्लले ३ विकेट लिँदा वीरेन्द्र नाथ र प्रदीप चन्दले समान २ र सञ्जय केसीले १ विकेट लिएका थिए।
खेलको म्यान अफ द म्याच विद्या भूषणका शेर मल्ल घोषित भए।
लिटल फ्लावर स्पोट्र्स एन्ड इभेन्टसको आयोजनामा भइरहेकाे प्रतियोगितामा १६ टाेली सहभागी छन्। प्रतियोगितामा काठमाडौं र कञ्चनपुरका २/२, रूपन्देही र दाङका १/१ र कैलालीका १० विद्यालय गरी कूल १६ विद्यालयको सहभागिता रहेकाे आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले बताए।
प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको आयोजकले जनाएकाे छ।
प्रतियोगिताको विजेताले एक लाख २० हजार रूपैयाँ र उपविजेताले ६० हजार रूपैयाँ पाउनेछन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही पाँच हजार रूपैयाँ दिइने आयोजकले जनाएको छ।
फागुन १५, २०७७ शनिबार १८:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।