रुपन्देही सुपरलिग :  बुटवल–११ विजयी 

रुपन्देही सुपरलिग :  बुटवल–११ विजयी 

भैरहवा : भैरहवास्थित सिद्धार्थ रङ्गशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवार भएको डिभिजन ‘ए’को खेलमा बुटवल–११ ले बुटवल राइनोजलाई ११४ रनले पराजित गर्दै जित निकालेको छ। 

हारसँगै बुटवल राइनोज डिभिजन ‘बी’मा घटुवा भएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल–११ ले निर्धारित ५० ओभरमा ३२.१ ओभर खेल्दै सबै विकेट गुमाई १९९ रनको योगफल बनायो। उसका लागि इशान पाण्डेले ८३ र प्रकाश केसीले ६५ रन बनाए।

बलिङमा बुटवल राइनोजका सुगम गमालले ७.१ ओभरमा १ मेर्डन राख्दै ४३ रन खर्चेर ६ विकेट लिए। यस्तै, असलम अली र अरविन्द सारुले समान २÷२ विकेट लिए । जवाफी ब्याटिङ गरेको बुटवल राइनोजले २५.४ ओभरमा सबै विकेट गुमाई ८५ रन मात्रै बनायो। 

उसका लागि सनित श्रेष्ठले १३, सुगम गमालले १२ र अब्दुल नसिमले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्। बलिङमा बुटवल–११ का इशान पाण्डेले ३, तौसिफ आलम र एजाज आलमले २-२ तथा देवेन्द्र सोमरे र सुदन श्रेष्ठले समान १-१ विकेट लिए । इशान पाण्डे म्यान अफ द म्याच भए। 

१७ गते डिभिजन ‘ए’ का बुद्ध क्रिकेट क्लब र बुटवल–११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रली तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रली प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, वेस्ट ब्याट्सम्यान, वेस्ट बलर र उदीयमान खेलाडीलाई ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार र म्यान अफ द फाइनललाई ५ हजार रुपैयाँ प्रदान गरिने छ। 

फागुन १४, २०७७ शुक्रबार २०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।