कृषि मन्त्री अर्यालका योजना : इजरायली कृषि प्रविधि सातै प्रदेशमा

कृषि मन्त्री अर्यालका योजना : इजरायली कृषि प्रविधि सातै प्रदेशमा

काठमाडौं   कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले नेपालको कृषि प्रणालीलाई व्यवस्थित बनाउन आफूले योजना बनाइरहेको बताएकी छन्। शुक्रवार पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले नेपालको कृषि प्रणालीमा देखिएका समस्या समाधानका अल्पकालीन तथा दीर्घकालीन योजनाहरू बनाउन थालेको बताएकी हुन्।

‘कृषि क्षेत्रका विकृति विसङ्गति तोड्नका लागि मैले अधिकतम प्रयत्न गरिरहेकी छु,’ मन्त्री अर्यालले भनिन्, ‘हामी छिट्टै किसानहरूले सदैभरि सम्झिरहने कार्यक्रम सार्वजनिक गर्दै छौँ।’

रासायनिक मल कारखाना स्थापना गर्ने 

रासायनिक मलमाथिको परनिर्भरताको अन्त्य गर्न नेपालमै रासायनिक मल कारखाना स्थापना गर्नेबारे छलफल भइरहेको मन्त्री अर्यालले बताइन्। ‘रासायनिक मलको अभाव हुने समस्याको अल्पकालीन समाधानका लागि पनि हामीले तयारी गरिरहेका छौँ, नेपालमै कारखाना खोलेर समस्या दीर्घकालीन रूपमा समाधानका लागि पनि हामीले कन्सेप्ट तयार गरेका छौँ,’ उनले भनिन्। 

त्यो प्रस्ताव छिट्टै मन्त्री परिषद्मा लैजाने मन्त्री अर्यालले बताइन् । अब रासायनिक मलको अभावमा कृषकहरू छटपटाउने दिनको अन्त्य हुने उनको भनाई छ। तर खुला सिमानाका कारण भारतबाट मल आउने र त्यसबाट उत्पन्न हुने विकृतिलाई तत्काल रोक्न सक्ने अवस्था नभए पनि व्यवस्थित भने गरिने मन्त्री अर्यालको भनाई थियो।

त्यस्तै ७ वटै प्रदेशमा रासायनिक मलको भण्डार स्थापनाको तयारी गरिएको उनको भनाई छ। 

इजरायली कृषि प्रविधि सातै प्रदेशमा

मन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्राउन लागेको जानकारी दिएकी छन्। 

सातै प्रदेशमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्राउने तयारी गरिएको हो। कृषि मन्त्रालयले यसै आर्थिक वर्ष सर्लाहीको नवलपुरमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी यो अभियान सुरु गर्न लागेको उनले जानकारी दिइन्। बिस्तारै यो प्रविधि ७ वटै प्रदेशमा विस्तार गरिने उनको भनाई छ। इजरायली कृषि प्रविधिलाई नेपाल भित्राउन नेपाल र इजरायल सरकारले स्टेरिङ कमिटी बनाइसकेको मन्त्री अर्यालले बताइन्। 

किसान सेन्टर एकद्वार प्रणाली

मन्त्री अर्यालले किसान सेन्टर एक द्वार प्रणाली स्थापना गर्ने तयारी गरेकी छन् । यो प्रणालीमार्फत कृषिको सूचना व्यवस्थित गर्ने तयारी गरिएको छ। 

‘अहिले जम्मा २० प्रतिशत किसानले मात्र प्रविधिको प्रयोग गर्ने रहेछन्’, मन्त्री अर्यालले भनिन्, ‘प्रविधिको प्रयोग गर्ने किसानहरूको सङ्ख्या बढाउँदै जानुपर्छ । हामीले किसान सेन्टर एक द्वार प्रणालीको स्थापना गरेर कृषिको सूचना व्यवस्थापन गर्छाै।’

बिचौलिया प्रथा अन्त्य 

कृषिभित्र रहेको मिलीजुली ठेकेदार प्रथा, अनुदानमा बेथिति जस्ता विकृतिलाई तोडेर जाने तयारी गरिरहेको मन्त्री अर्यालले बताएकी छन्। त्यस्तै कालीमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बेथिति तोड्नका निम्ति कार्यविधि बनाइसकेको समेत मन्त्री अर्यालले जानकारी दिइन् । ठेकदारी प्रथाको अन्त्यका लागि प्रयत्नशील रहेको मन्त्री अर्यालले दाबी गरिन्।

त्यस्तै नेपालमा कृषि प्रविधिको विकास तथा विस्तारमा जोड दिने योजना रहेको मन्त्री अर्यालले बताइन् । पशुपन्छीको क्षेत्रमा समेत नीतिगत व्यवस्थित गर्न तयारी गरिएको र केही समयमै नेपाललाई दूध, अण्डा र मासुमा आत्मनिर्भर घोषणा गर्ने उनले बताइन्। 

फागुन १४, २०७७ शुक्रबार २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।