‘विजय देवरकोन्डा’ बन्ने आसमा शेखर
 
                    
                    
                    
                    काठमाडौँ : झट्ट हेर्दा साउथ इन्डियन फिल्मका अभिनेताझैँ देखिन्छन् नेपाली कलाकार शेखर सुवेदी । ‘बाजागाजा’ ,‘ची मुसी ची’, ‘निर्भय’ लगायत फिल्ममा अभिनय गरिसकेका उनलाई कस्तो इन्डियन लुक्स भन्ने प्रतिक्रिया दिन्थे।
सुबेदीले ४ वर्ष देखि फिल्ममा अभिनय गर्न २५ भन्दा बढी अडिसन दिइसकेका छन्। तर, लकले साथ दिइसकेको छैन अझै।
अहिले उनलाई त्यही इन्डियन लुक्स फाप्नेमा विश्वस्त छन्। साउथ इन्डियन चलचित्र ‘अर्जुन रेडी’को नेपाली रिमेक बन्दैछ। त्यसका लागि अडिसन आव्हान समेत भइसक्यो। उनी अहिले त्यसैको तयारीमा जुटेका छन्।
आफ्नो अनुहार उतैको कलाकारसँग मिल्दोजुल्दो भएको फाइदा यो पटक हुन्छ कि भन्ने आसमा छन् उनी।
‘साउथ चलचित्रको रिमेकमा दर्शकको आँखामा पर्न सकिन्छ,’ उनले भने‘ यसमा अभिनय गर्न आतुर छु।’
पटक–पटक अस्वीकृत भएको अनुभव सङालेका उनी यसमा जस्तोसुकै अभिनयका लागि पनि शारीरिक र मानसिक रूपमा तयार रहेको बताउँछन्।
शेखरले उकेरासँग भने,‘ यो चलचित्रको अडिसनमा भाग लिनेको सङ्ख्या पक्कै ठुलो हुन्छ । त्यो भिडमा म पनि हुनेछु र पास हुने विश्वास छ।’
नक्कली अडिसन त हैन ?

अहिले चलचित्र अडिसन चर्चाको लागि मात्रै हुने गरेको आरोप लाग्दै आइरहेको छ । यस चलचित्रमा पनि अडिसन प्रोटोकलको लागि मात्र हुने हो कि भन्ने उनमा शङ्का भने छ।
उनले आफूसँगै अडिसन दिन गएकाहरूलाई अडिसन लिने चलचित्रमा देख्न नपाएको बताएका छन् ।
‘मैले पनि धेरै चलचित्रको लागि अडिसन दिएको छु । मसँगै अडिसन दिन आएका कलाकारलाई ती चलचित्रमा देख्न पाएको छैन,’ उनले भने‘ पुरानै कलाकार र अन्य कलाकार देखेको छु । सायद यो चलचित्र पनि यस्तै हुने हो की भन्ने मनमा शङ्का त छ ।’
उनले चलचित्र ‘चुरीफुरी’मा पनि अडिसन दिएका थिए। तर, त्यहाँ अडिसन दिन आएका कलाकार फिल्ममा देखिएनन्। हालै चलचित्र ‘सत्यम’मा पनि अडिसन दिए। त्यसको नतिजा आइसकेको छैन।
तेलुगु चलचित्र ‘अर्जुन रेडी’को नेपाली रिमेक बन्ने चर्चा सुरु भएको एक वर्ष भयो। बल्ल निर्माण टिमले अडिसन खुलायो। उसले अडिसनबाट मुख्य अभिनेता, अभिनेत्री र अन्य केही कलाकार छान्ने दाबी गरेको छ।
चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् भने निर्मातामा आशिष श्रेष्ठ र केशव खड्का छन् ।
सुपर हिट दक्षिण भारतीय तेलगू चलचित्र ‘अर्जुन रेडी’मा विजय देवरकोन्डाले अभिनय गरेका छन्। फिल्म सन्दीप रेडी भङगले निर्देशन गरेका थिए । यता हिन्दीमा कबिर सिंह बनेको थियो जसमा साहिद कपुरले अभिनय गरेका थिए।
फागुन १२, २०७७ बुधबार १८:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    