९ सय विगाहमा बन्ने औद्योगिक क्षेत्रको लागत ९ अर्ब

कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका दैजीको छेलामा बन्ने औद्योगिक क्षेत्रको लागत ९ अर्ब लाग्ने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशको दैजी औद्योगिक क्षेत्र निर्माण सक्न ९ अर्ब लाग्ने अनुमान गरिएको वेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले जानकारी दिए।
औद्योगिक क्षेत्र निर्माणका लागि अहिले साढे ३ सय विगाह जमिन अधिग्रहण गरिएको छ। ‘तत्कालका लागि साढे ३ सय विगाह जमिन अधिग्रहण गरेर काम सुरु हुन्छ, प्रमुख चन्दले भने, यसको क्षेत्रफल ९ सय विगाह हुनेछ।’
सरकारले सातै प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेअनुसार वेदकोटको दैजीमा औद्योगिक क्षेत्र बनाउन लागिएको उनले बताए। सरकारले दैजीसँगै झापाको दमक, बाँकेको नौवस्ता, बुटवलका मोतीपुर र चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने बताएको छ।
दैजीको औद्योगिक क्षेत्रका लागि बेदकोट सामुदायिक बनको साढे ४ सय हेक्टर र जनचेतना सामुदायिक बनको २ सय हेक्टर जमिन अधिग्रहण गरिने चन्दले जानकारी दिए। दैजीमा सामुदायिक बन मासेर औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो।
दैजी औद्योगिक क्षेत्रको शिलान्यास भएसँगै ठेक्का लगाउने प्रक्रिया सुरु हुने वेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले जानकारी दिए।
फागुन १०, २०७७ सोमबार १३:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।