फोर्ड र गुगलबिच रणनीतिक साझेदारी

गुगलसँगको ६ वर्षको सहकार्यपछि फोर्डले आफ्नो डेटा, आर्टिसियल इन्टेलिजेन्स लगायतका तथ्याङ्कका लागि गुगल क्लाउड नै आफ्नो उपयुक्त क्लाउड भएको बताउँदै एन्ड्रोइड सिस्टम जडानका लागि गुगलसँग सहकार्य गरेको हो।
यसका लागि यी दुई कम्पनीले ‘टिम अपसिफ्ट’ नामको आफ्नो छुट्टै संयुक्त समूह पनि बनाएका छन्। जसमा दुवै कम्पनीका प्रतिभाको प्रवर्धन, फोर्डको रूपान्तरणमा सहयोग, व्यक्तिगत उपभोक्ता सेवा, परिवर्तनका लागि उत्प्रेरकको भूमिका खेल्ने, तथ्याङ्क सहजीकरण लगायतको आपसी सहयोग हुने विश्वास गरिएको छ। सम्झौता अनुसार सवारीसाधन खरिद गर्दा र स्वामित्व हस्तान्तरणमा यसमा भएको तथ्याङ्कले सहयोग गर्नेछ।
‘विद्युतीकरण, कनेक्टिभिटी र सेल्फ ड्राइभिङमा फोर्डले आमूल रूपान्तरण गरिरहेको अवस्थामा गुगल र फोर्ड सँगै आउनुले ग्राहकलाई विशिष्ट अनुभूति दिनुका साथै उद्यमलाई पनि आधुनिकीकरण गर्नेछ,’ फोर्डका सिइओ जिम फार्लीले भने। एसेम्बिलिङ उद्योगको सञ्चालनदेखि ड्राइभ एसिस्ट टेक्नोलोजीसम्म आइपुग्दा फोर्डले १२० वर्षको अटोमोबाइल क्षेत्रमा नयाँ अन्वेषणको जग बसालेको अल्फाबेटको सञ्चालकसमेत रहेका गुगलका सिइओ सुन्दर पिचाईले बताए।
उनका अनुसार फोर्डको व्यापार र अटोमोटिभ टेक्नोलोजीमा गुगलको एआई, तथ्याङ्क विश्लेषण र क्लाउड प्लेटफर्मले सेवाग्राहीलाई सुरक्षित बनाउनेछ। डिजिटल यातायात, आधुनिकीकरण तथा सवारीसाधनमा टेक्नोलोजीको प्रयोगका लागि कम्पनीलाई गुगलले गुगल क्लाउड, एआई, एमएल तथा तथ्याङ्क विश्लेषण लगायतका क्षेत्रमा सहयोग पुर्याउने उनको विश्वास छ।
गुगलसँगको सहकार्यपछि फोर्डको योजना
१. ग्राहकको विशिष्ट टेक्नोलोजी प्रयोगको तथा सेवामा सुधार भएको अनुभूति दिलाउने ।
२. उत्पादनको विकास, निर्माण तथा ‘सप्लाई चेन’ व्यवस्थापन र एआईको प्रयोगले कर्मचारी तालीम सिर्जना र उद्योगका इक्वीप्मेन्टको क्षमता बढाउने ।
३. सन् २०२३ देखि फोर्ड तथा लिङ्कनका गाडीमा विश्वस्तरीय गुगल एप, गुगल म्याप तथा भ्वाइस टेक्नोलोजीसहितको एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने
४. गुगल एसिस्टेन्स जडान गर्ने ।
५. सङ्गीत, पोडकास्ट, अडियो बुक लगायतको प्रयोगका लागि गुगल प्लेको व्यवस्था गर्ने
६. ‘थर्ड पार्टी डेभलोपर’लाई एपको एक्सेस दिएर सेवाग्राहीको अनुभवलाई उत्कृष्ट बनाउने
फोर्ड विश्वमा अटोमोबाइल क्षेत्रमा प्रसिद्ध कम्पनी हो । यसले कार, ट्रक, एसयूभी, विद्युतीय सवारी र लिंकन ‘लक्जरी’ सवारीसाधनको उत्पादन गर्छ। यसले विश्वमा १ लाख ८७ हजार बढीलाई रोजगारी दिएको छ।
फागुन ६, २०७७ बिहीबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।