आगामी आर्थिक वर्षको बजेट तयारी सुरु 

आगामी आर्थिक वर्षको बजेट तयारी सुरु 

काठमाडौँ : अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणको तयारी सुरु गरेको छ।  बजेट निर्माणको तयारी सुरु गरेको मन्त्रालयले पूर्व अर्थ सचिवहरूसँग छलफल गरेको छ। 

पूर्व अर्थ सचिवहरूले कोरोना महामारीका कारणबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने गरी बजेट केन्द्रित गर्न सुझाव दिएका छन्। उनीहरूले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि प्राथमिकतामा राख्न आग्रह गरे। 

पूर्व मुख्य सचिव तथा अर्थ सचिव डा. विमल कोइरालाले कोरोना भाइरस र निर्वाचनको घोषणाले  आगामी आर्थिक वर्षको बजेट निर्माणमा नयाँ चुनौती थप गरेको उल्लेख गरे। उनले बजेट निर्माण गर्दा आर्थिक परिसूचकहरू र विभिन्न प्राविधिक विषयहरूको अतिरिक्त अर्थ राजनीतिलाई समेत ध्यान दिन उपयुक्त हुने सुझाव दिएका छन्। 

त्यस्तै पूर्व मन्त्री एवं अर्थ सचिव विद्याधर मल्लिकले विकासलाई केही आर्थिक परिसूचकमा सीमित राख्नुभन्दा समग्रतामा हेर्नुपर्ने बताए। उनले अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्नुपर्ने सुझाव दिए। 

अर्का पूर्व अर्थ सचिव रामेश्वर खनालले व्यावसायिक वातावरण निर्माण र नीतिगत एवं कानुनी सुधारतर्फ जोड दिएका छन्। उनले सम्पूर्ण सुधार सहितको बजेट जरुरी रहेको भन्दै खर्च प्रणालीलाई बढाउन आवश्यक भएको बताए।  

पूर्व अर्थ सचिव डा. शान्ताराज सुवेदीले कोरोना भाइरसले जुन जुन क्षेत्रमा असर गरेको छ, सोही क्षेत्रलाई सम्बोधन गर्ने गरी बजेट ल्याउन जरुरी रहेको बताए।

अर्का पूर्व  अर्थ सचिव सुमनप्रसाद शर्माले आगामी आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रमा खर्च बढाउन सुझाव दिए। त्यस्तै पूर्व अर्थ सचिव युवराज भुसालले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अनावश्यक पूर्वाधार निर्माणलाई कटौती गर्न जरुरी रहेको बताए।  

पूर्व अर्थ सचिव शंकरराज अधिकारीले आर्थिक वृद्धि सँगसँगै आर्थिक सामाजिक न्यायका कार्यक्रमहरू पनि अघि बढाउन उपयुक्त हुने सुझाव दिए। 

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले पूर्व सचिवहरूबाट आएका सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्ने बताए। 

फागुन ६, २०७७ बिहीबार ०८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।