इंग्ल्यान्डविरुद्धको टेस्टमा भारतको फराकिलो जित

काठमाडौं : भारतले इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेट शृंखलाको दोस्रो खेलमा फराकिलो जित हासिल गरेको छ।
चेन्नईमा मंगलबार भारतले इंग्ल्यान्डलाई ३ सय १७ रनले पराजित गरेको हो। जितसँगै भारतले ४ खेलको टेस्ट शृंखलामा १–१ को बराबरी गरेको छ।
यसअघि पहिलो टेस्टमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले पराजित गरेको थियो।
भारतले दिएको ४ सय ८२ रनको लक्ष्यसहित ब्याटिङ थालेको इंग्ल्यान्डले आफ्नो दोस्रो पारीमा १ सय ६४ रन बनायो।
उक्त पारीमा इंग्ल्यान्डका मोइन अलीले सर्वाधिक ४३ रन बनाए। यस्तै, जोय रुटले ३३, डान लरेन्सले २६ र रोरी बु्रन्सले २५ रन जोडे।
टेस्टमा डेब्यु गरेका भारतका अक्षर पटेलले ५ विकेट लिए। यस्तै, रविचन्द्र आश्विनले ३ विकेट लिँदा कुलदीप यादवको नाममा २ विकेट रह्यो।
यसअघि आफ्नो दोस्रो पारीमा भारतले २ सय ८६ रन बनाएको थियो।
भारतका लागि रविचन्द्र आश्विनले १ सय ६ रनको शतकीय पारी खेले। यस्तै, कप्तान विराट कोहलीले ६२ र रोहित शर्माले २६ रन बनाए।
इंग्ल्यान्डका ज्याक लिच र मोइन अलीको नाममा समान ४ विकेट रह्यो।
आफ्नो पहिलो पारीमा इंग्ल्यान्डले १ सय ३४ रन बनाएको थियो। उक्त पारीमा बेन फोअकेसले अविजित रहँदै ४२ रन बनाएका थिए। यस्तै, ओली पोपले २२, बेन स्टोक्सले १८ र डम सिब्लीले १६ रनको योगदान दिएका थिए।
इंग्ल्यान्डलाई कम स्कोरमा रोक्न भारतका रविचन्द्र आश्विनले ५ विकेट लिएका थिए। यस्तै, इशान्त शर्मा र अक्षर पटेलको नाममा समान २ विकेट रहेको थियो।
भारतले आफ्नो पहिलो पारीमा ३ सय २९ रन बनाएको थियो। उक्त पारीमा भारतका रोहित शर्माले १ सय ६१ रन बनाएका थिए। यस्तै अन्जिका रहाणेले ६७ र चेतेश्वर पुजारा २१ रन जोडेका थिए। ऋषप पन्तले अविजित रहँदै ५८ रन बनाएका थिए।
इंग्ल्यान्डका मोइन अलीले ४, ओली स्टोनले ३ र ज्याक लिचले २ विकेट लिएका थिए।
शृंखलाअन्तर्गतका बाँकी दुई खेल अहमदावादको नवर्निर्मित मोटेरा रंगशालामा हुनेछन्।
क्रिकइन्फो डट कम
फागुन ४, २०७७ मंगलबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।