रूपन्देही सुपर लिग : गोलपार्क क्रिकेट क्लब विजयी

रूपन्देही सुपर लिग : गोलपार्क क्रिकेट क्लब विजयी

भैरहवा : रूपन्देहीको भैरहवामा जारी ‘नेपाल टेलिकम रूपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता’मा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ। 
 

सिद्धार्थ रंगशालामा आज (बिहीबार) भएको डिभिजन ‘बी’ अन्तर्गतको खेलमा गोलपार्कले बुटवल युथलाई ६६ रनले पराजित गरेको हो। 

२ सय ८ रनको विजयी लक्ष्य पछ्याएको बुटवल युथ ३३.३ ओभरमा १ सय ४१ रनमा समेटियो। उसका लागि सुजन गौतमले सर्वाधिक ३१ रन बनाए। यस्तै, सुमन थापा क्षेत्रीले २७ र विनित पौडेलले २० रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

बुटवल युथलाई सस्तैमा रोक्न गोलपार्कका जीवन पुनले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दै १५ रन खर्चिए। 
यस्तै, रिक्की पुनले २, रिजन पछाई, आर्गिन सुवेदी र विनोद रनपालले समान १ विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङमा आएको गोलपार्कले ३९.४ ओभरमा अलआउट हुँदै २ सय ७ रन जोडेको थियो, जसमा रिक्की पुनले ४५, विनोद रनपालले ३३, जीवन पुनले ३१ र हेमन्त ओलीले २८ रन जोडे। 

बलिङमा बुटवल युथका विनित पौडेलले ४ तथा सन्तोष परियार र सुजन गौतमले समान २ विकेट लिए। 

खेलको म्यान अफ दि म्याच जीवन पुन घोषित भए। 

माघ २९, २०७७ बिहीबार २३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।