रुथको ह्याट्रिकमा वालिङको फराकिलो जित, चौदण्डीगढी ७–१ ले पराजित

काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले उदपुरको चौदण्डीगढी नगरपालिकाको टोलीमाथि फराकिलो जित हासिल गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (बिहीबार) भएको खेलमा वालिङले चौदण्डीगढीमाथि ७–१ गोल अन्तरले जित हासिल गर्याे।
वालिङलाई सहजै जित दिलाउन क्यामरुनी खेलाडी मेथो रुथ नायक बनिन्। उनले ह्याट्रिकसहित ५ गोल गरिन्। थप २ गोल पनि क्यामरुनकै टौटा ओरनेला नोइलीले गरिन्।
चौदण्डीगढीको तर्फबाट अन्जना थुलुङले सान्त्वना गोल गरिन्।
वालिङले जारी लिगमा वालिङले चौथो जित हासिल गरेको छ। यता चौदण्डीगढी भने लगातार नवौं खेलमा पराजित भएको छ।
जितपछि वालिङका प्रशिक्षक दिलीप थापाले टोलीले योभन्दा फराकिलो जित हात पार्ने अवसर गुमाएको प्रतिक्रिया दिए। ‘हामी योभन्दा बढी गोल गर्न सक्थ्यौं। हामीले ७ गोल गरे पनि केही गोल मिस गर्याैं,’ दिएन्फा डट कमसँगको कुराकानीमा उनले भने।
यता चौदण्डीगढीका प्रशिक्षक दीपक थापाले टोलीले बाँकी तीन खेल अंकका लागि खेल्ने बताए। ‘हामी अंकविहीन छौं। तर, हामी बाँकी तीन खेलमा यो अवस्था बदल्न प्रयास गर्नैछौं,’ दिएन्फा डट कमसँगको कुराकानीमा उनले भने।
माघ २९, २०७७ बिहीबार १६:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।