
पुलिसले विराटनगरलाई हरायाे

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाको टोलीलाई पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (मंगलबार) भएको दोस्रो चरणको खेलमा पुलिसले विराटनगरलाई टोलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो। पुलिसलाई जित दिलाउन निरु थापाले २ तथा निर्मला उपाध्यायले १ गोल गरिन्।
पुलिसले खेलको ४१ औं मिनेटमा निर्मलाको गोलबाट अग्रता बनायो। उनले निर्मला बिकको पासलाई गोलमा परिणत गरेपछि पहिलो हाफसम्म पुलिस १–० ले अघि रह्यो।
दोस्रो हाफमा निरु चम्किइन्। उनले खेलको ५७ औं मिनेटमा गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाइन्। त्यसको दुई मिनेटपछि उनले अर्काे गोल थप्दै पुलिसलाई ३–० स्थितिमा पुर्याइन्।
यसअघि पहिलो चरणको खेलमा पुलिस विराटनगरसँग १–० ले पराजित भएको थियो।
माघ २७, २०७७ मंगलबार २०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।