
भारतविरुद्धको पहिलो टेस्टमा पाहुना टोली इंग्ल्यान्डकाे फराकिलो जित

चेन्नई : भारतविरुद्धको चार टेस्ट शृंखलाको पहिलो खेलमा पाहुना टोली इंग्ल्यान्डले फराकिलो अन्तरले जित निकालेकाे छ।
शृंखलाअन्तर्गत चेन्नईमा आज (मंगलबार) सम्पन्न पहिलो खेलमा इंग्ल्यान्ड २ सय २७ रनले विजयी भएको हो।
चौथो पारीमा ४ सय २० रनको विजयी लक्ष्य पछ्याएको भारत १ सय ९२ रनमा समेटिएपछि इंग्ल्यान्डले विशाल अन्तरको जित निकाल्यो।
चौथो पारीमा भारतका कप्तान विराट कोहलीले ७२ रनको इनिङ खेले। यस्तै, प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ५० रन जोडे। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
भारतलाई दुई सयभन्दा कमको स्कोरमा समेट्न इंग्ल्यान्डका ज्याक लिचले सर्वाधिक ४ विकेट लिए। यस्तै, जेम्स एन्डरसनले ३ खेलाडीलाई पेवेलियन फर्काउँदा जोफ्रा आर्चर, बेन स्ट्रोक्स र डोम बेसको नाममा समान १ विकेट रह्यो।
त्यसअघि तेस्रो पारीमा १ सय ७८ रन बनाएको इंग्ल्यान्डले भारतसामु ४ सय १९ रनको अग्रता कायम गरेको थियो।
इंग्ल्यान्डले पहिलो पारीमा भने ५ सय ७८ रन बनाएको थियो। उसका लागि कप्तान जो रुटले दोहोरो शतक प्रहार गरेका थिए। भारतको बलिङ आक्रमण ध्वस्त पारेको इंग्ल्यान्डले तेस्रो दिनसम्म ब्याटिङ गरेको थियो।
तेस्रो दिन दोस्रो पारी थालेको भारत ३ सय ३७ रनमा समेटिएको थियो। उक्त पारीमा रिसभ पन्तले सर्वाधिक ९१ रन जोडेका थिए। यस्तै, वासिंटन सुन्दरले अभिजित रहँदै ८५ रन बनाएका थिए।
जितसँगै इंग्ल्यान्डले जारी शृंखलामा १–० को अग्रता बनाएको छ।
शृंखलाअन्तर्गतको दोस्रो टेस्ट आगामी शनिबार चेन्नईमै सुरु हुनेछ।
क्रिकइन्फो डट कम
माघ २७, २०७७ मंगलबार १६:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।