११ एयरलाइन्सले बुझाएनन् नौ करोड, नेकोनको सबैभन्दा धेरै बक्यौता

काठमाडौँ : आन्तरिक उडानको अनुमति लिएका ११ वटा एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नौ करोड बढी शुल्क बुझाएका छैनन् ।
उनीहरूले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क र रोयल्टी रकम नबुझाएका हुन्। ११ कम्पनीबाट प्राधिकरणले नौ करोड शुल्क उठाउन सकेको छैन।
प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार नेकोन एयरले ४ करोड ७० लाख रुपैंया तिरेको छैन। सर्वसाधारणलाई समेत सेयर जारी गरेको यो कम्पनी बन्द भइसकेको छ। यसले सर्वसाधारणको १७ करोड डुबाएको थियो।
कस्मिक एयरले ३ करोड ४७ लाख, शिवानी एयरले ५५ लाख ५१ हजार, गोरखा एयरले २० लाख, कर्णाली एयरले १७ लाख ४६ हजार, माउन्टेन एयरले १७ लाख ४६ हजार, साङ्ग्रिला एयरले १५ लाख ३७ हजार, स्काइलाइन एयरले १५ लाख ५० हजार, एयर काष्ठमण्डपले ७ लाख ३८ हजार, नेपाल एयरवेजले ५ लाख ५० हजार र अल्पाइन एयरले ७२ हजार तिर्न बाँकी छ।
यी कम्पनीले उडान सेवा बन्द गरेपछि प्राधिकरणलाई बुझाउनुपर्ने शुल्क समेत नतिरी बसेका छन्। प्राधिकरणले सोमबार सार्वजनिक गरेको सूचनामा ३० दिनभित्र बक्यौता चुक्ता गर्न भनिएको छ।
प्राधिकरणले निर्धारण गरेको रकम तिर्न नपर्ने प्रमाण भए सो समेत पेस गर्न आग्रह गर्दै उसले तोकिएको समयमा पनि हिसाब मिलान नगरे सञ्चालकलाई कालो सूचीमा राख्ने चेतावनी दिएको छ,।
कालो सूचीमा परेमा सञ्चालकले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै काम र व्यापार व्यवसायमा सहभागी हुन पाउँदैनन्।
माघ २६, २०७७ सोमबार १७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।