कोरोना खोप : कर्णालीमा ९ हजारभन्दा बढीले लगाए, ३३ जनामा देखियो असर

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) खोप अभियानको पहिलो चरणमा ९ हजारभन्दा बढीले खोप लगाएका छन्।
कर्णालीको प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अभियानको १० दिनमा ९ हजार ४ सय २० जनाले कोरोना खोप लगाएका हुन्।
गत शनिबार सम्पन्न उक्त अभियान यही माघ १४ गते सुरु भएको थियो।
निर्देशनालयका स्वास्थ्य निर्देशक डा. रविन खड्काका अनुसार प्रदेशमा पहिलो चरणमा ११ हजार ७ सय ८१ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ८२ प्रतिशतलाई खोप लगाइएको छ।
जसअनुसार सुर्खेतमा २ हजार ३ सय ४०, दैलेखमा १ हजार ८ सय ४३, जाजरकोटमा ६ सय ७३, हुम्लामा ४ सय ८५, जुम्लामा १ हजार ४० र मुगुमा ४ सय १७ जनाले कोरोना खोप लगाएका छन्। यस्तै, कालीकोटमा ८ सय, डोल्पामा ३ सय ३०, रुकुम पश्चिममा ८ सय ५० र सल्यानमा १ हजार २ जनाले खोप लगाएका छन्।
स्वास्थ्य निर्देशक डा. खड्काले पहिलो चरणमा केही मानिसहरू खोप लगाउन छुटेको जानकारी दिए।
हिमाली जिल्लाहरूमा खोपको लक्षित समूहमा परेका महिला स्वास्थ्य स्वयंसेविकाहरू जाडो छल्न तराई झरेकाले उनीहरू छुटेको निर्देशनालयले जनाएको छ।
पहिलो चरणमा छुटेकालाई दोस्रो चरणको अभियानमा खोप लगाइने डा. खड्काले जानकारी दिए।
सरकारले अभियानको पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने व्यक्ति, एम्बुलेन्स चालक, अस्पतालका कर्मचारी, महिला स्वास्थ्य स्वंसेविका, सरसफाइमा संलग्न कर्मचारी, वृद्धाश्रम तथा मानव सेवा आश्रमका ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो।
३३ जनामा देखियो असर
कोरोना खोप लगाएकामध्ये ३३ जनामा सामान्य असर देखिएको उनले बताए। तीमध्ये एक जनामा गम्भीर असर देखिए पनि भोलिपल्ट निको भएको डा. खड्काले जानकारी दिए।
माघ २५, २०७७ आइतबार २०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।