राष्ट्रिय महिला लिग फुटबल : रजनीकाे निर्णायक गोलमा चन्द्रपुरको दोस्रो जित

राष्ट्रिय महिला लिग फुटबल : रजनीकाे  निर्णायक गोलमा चन्द्रपुरको दोस्रो जित

काठमाडौं : रजनी थोकरले निर्णायक गोल गरेपछि रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (आइतबार) भएको दोस्रो चरणको खेलमा विराटनगर महानगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले लिगमा दोस्रो जित निकालेको हो।

यसअघि चन्द्रपुरले चौदण्डीगढीलाई हराएको थियो।

चन्द्रपुरलाई दोस्रो जित दिलाउन खेलको ७० औं मिनेटमा थोकरले गोल गरिन्। उनले सुनिता भोलानको पासलाई गोलमा परिणत गरेकी हुन्। जितसँगै चन्द्रपुरले ७ खेलबाट ६ अक बटुलेको छ।

हार व्यहोरे पनि विराटनगर अंकतालिकामा तेस्रो स्थानमा कायमै छ। उसको ७ खेलबाट १० अंक छ। 

यी दुई टोलीबीच भएको पहिलो चरणको खेलमा भने विराटनगर विजयी भएको थियो। उक्त खेलमा विराटनगरले चन्द्रपुरलाई ५–० ले पराजित गरेको थियो। 

माघ २५, २०७७ आइतबार १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।