६० वर्ष उमेर नपुग्दै सामाजिक सुरक्षा कोषको रकम निकाल्न मिल्ने कार्यविधि सञ्चालक समितिबाट पारित 

६० वर्ष उमेर नपुग्दै सामाजिक सुरक्षा कोषको रकम निकाल्न मिल्ने कार्यविधि सञ्चालक समितिबाट पारित 

काठमाडौं : योगदानमा आधारित सामाजिक सुरक्षा कार्यविधि संसोधनका लागि प्रस्तावित मस्यौदा सामाजिक सुरक्षा कोषको सञ्चालक समितिको बैठकले पारित गरेको कोषले जनाएको छ। 

हिजो (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले कार्याविधि मस्यौदा पारित भएको कोषका प्रवक्ता विवेक पन्थीले बताए। ‘अब मन्त्रालयमा कार्यविधि पठाइनेछ। र, मन्त्रीपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ,’ कोषका प्रवक्ता पन्थीले भने। 

कार्यविधि संसोधनको मस्यौदामा विद्यमान योजनामाथि हेरफेर गरिने भएको छ। हालको व्यवस्था अनुसार कोषमा सूचीकृत भई योगदान रकम जम्मा गर्न सुरु गरेका योगदानकर्ताहरूले विभिन्न ४ किसिमका सुविधा पाउने व्यवस्था छ, जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना तथा वृद्धावस्था सुरक्षा योजना छन्।

वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत रोजगारीबाट अवकाश प्राप्त गरेका योगदानकर्ताहरूले पेन्सन पाउन ६० वर्ष नाघेको हुनुपर्ने प्रावधानप्रति धेरैको गुनासो थियो। 

त्यसकारण उक्त प्रावधानप्रतिको गुनासो तथा विज्ञहरूको सुझाव समेतका आधारमा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यविधि संसोधन गर्न लागेको हो। वृद्धावस्था योजनाअन्तर्गत योगदानकर्ताको कुल ३१ प्रतिशत रकममध्ये २८.३३ प्रतिशत रकम रहने व्यवस्था छ। 

योगदान रकमको ठूलो हिस्सा वृद्धावस्था योजनामा जाने तर यो रकम ६० वर्षअगाडि निकाल्न नपाउने भएपछि धेरैको गुनासो थियो। सोही गुनासोका आधारमा यो योजना अन्तर्गतको २८.३३ प्रतिशत रकम घटाएर उपदान योजनाको व्यवस्था गर्ने तयारी गरिएको छ। 

२८.३३ प्रतिशत रकमलाई ब्रेकडाउन गरेका १८ प्रतिशत रकम वृद्धावस्था सुरक्षा योजनाका लागि र बाँकी १०.३३ प्रतिशत रकम उपदान योजनाअन्तर्गत राखिने उल्लेख गरिएको छ। 

उपदान सुविधाअन्तर्गतको रकम योगदानकर्ताले आवश्यक परेको खण्डमा सोही रकम धितो राखेर सापटीको रूपमा प्रयोग गर्न पाउँछन्। आवश्यक नपरेको खण्डमा ६० वर्ष उमेर पूरा भएपछि उक्त रकम एकमुष्ठ लिन पाउने व्यवस्था मिलाइनेछ। 

समितिबाट पारित मस्यौदामा औषधि उपचार तथा मातृत्व सुरक्षा योजनामा समेत केही हेरफेर गरिएको छ। योगदान सुरु गरेको ३ महिनादेखि छाडेको ३ महिनासम्म मात्रै यो सुविधा पाउने व्यवस्थालाई परिमार्जन गरी अवकाश तथा पेन्सन सुविधा लिइरहेका ६० देखि ७० वर्ष उमेरसम्मका वृद्धवृद्धालाई औषधि उपचार सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ। 

त्यस्तै, योगदानकर्ता श्रमिक सुत्केरी भएको अवस्थामा ६ हप्तासम्मको उपचार खर्च उपलब्ध गराउने व्यवस्था राखिएको उल्लेख छ। हाल गर्भावस्था परीक्षण र ३ महिनासम्म शिशु उपचार खर्च कोषले व्यहोर्ने व्यवस्था छ। 

आश्रित परिवार सुरक्षा योजनामा समेत हेरफेर हुने कोषले जनाएको छ। सो योजनाअन्तर्गत विदेशी श्रमिकको हकमा आश्रित परिवारलाई एकमुष्ठ ७ लाख रूपैयाँ उपलब्ध गराइने व्यवस्थाको प्रस्ताव गरिएको छ। कोषमा सूचीकृत विदेशी श्रमिकहरूको मृत्यु भएमा आश्रित परिवाररलाई एकमुष्ठ रकम दिँदा सहज हुने हुँदा यस्तो व्यवस्था राख्न लागिएको हो। 

हाल कोषमा १३ हजार १ सय ६६ रोजगारदाता र १ लाख ८७ हजार ८ सय ५ श्रमिकहरू सूचीकृत भएका छन्।

माघ २१, २०७७ बुधबार १६:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।