बङ्गलादेशबाट आउने युरिया मलको मूल्य अनिश्चित

बङ्गलादेशबाट आउने युरिया मलको मूल्य अनिश्चित

काठमाडौँ : बङ्गलादेशले नेपाल पठाउने युरिया मल प्याकिङ गरेर तयारी अवस्थामा राखेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। 

सम्झौता अनुसारको मल बङ्गलादेशले प्याकिङ गरेर तयारी अवस्थामा राखेको जानकारी प्राप्त भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव श्रीराम घिमिरेले बताए। 

घिमिरेका अनुसार मल ठ्याक्कै कुन दिन आइपुग्छ भन्ने जानकारी आएको छैन। ‘उताबाट सबै प्रक्रिया पुरा भइसकेको जानकारी आएको छ। मल यता पठाउने तयारी अवस्थामा छ। ठ्याक्कै यही दिन आउँछ भनेर यकिन भइसकेको छैन,’ सहसचिव घिमिरेले उकेरासँग भने। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बङ्गलादेशबाट ५० टन मल ल्याउन गत पुस २ गते जिटूजी सम्झौता गरेको थियो। कृषि सामग्री कम्पनी लिमिटेडले एलसी खोलेको १० दिनपछि मल लोडिङ गर्न सुरु गरिने सम्झौतामा उल्लेख गरिएको छ। सम्झौता अनुसारको मल दुई महिनाभित्र उपलब्ध गराउने बङ्गलादेशले जनाएको थियो।  

यस अघि सरकारले बङ्गलादेशबाट मल पैँचो ल्याउने तयारी गरेको थियो। पैँचो सम्भव नभएपछि सरकारले मल खरिद गरेरै ल्याउने सम्झौता गरेको हो। बङ्गलादेशबाट मल ल्याउने कुरा भएको निकै लामो समयपछि मात्रै सम्झौता भएको थियो। 

अमेरिकी डलर तिरेर ल्याउन लागिएको रासायनिक मलको नेपाली मूल्य कति पर्छ भन्ने पनि टुङ्गो लागेको छैन। उसले नेपाललाई प्रदान गरेको दिनमा हुने अमेरिकी डलरको दरभाउ अनुसार मूल्य कायम हुने मन्त्रालयका शाखा अधिकृत अरुण जिसीले उकेरालाई जानकारी दिए। 

अमेरिकी डलरको दरभाउ दिनदिनै तलमाथि हुने गरेको छ। मन्त्रालयले प्रतिटन २५९ दशमलव १९५ अमेरिकी डलरमा खरिद सम्झौता गरे पनि मूल्य तलमाथि हुने शाखा अधिकृत जिसीले जानकारी दिए। 

बङ्गलादेशको मल आयातका लागि कृषि सामग्री कम्पनीले टेन्डर प्रक्रिया टुङ्ग्याइसकेको छ। मल ढुवानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) को कम्पनी जेन्ट्रेड एफजेडएफलालाई जिम्मा दिएको मन्त्रालयले जनाएको छ।

माघ २१, २०७७ बुधबार १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।