‘संसद् पुनःस्थापना गरेरै छाड्छौं’

इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जसरी पनि संसद् पुनःस्थापना गरेर छाड्ने बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको भातृ संगठनले सुनसरीको इटहरीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन नसकेर संसद्लाई दलीय झगडाको ढाल बनाएर महाभुल गरेको तर्क गरे।
संसद् पुनःस्थापना भए मात्र संविधानको रक्षा हुने भएको बताउँदै उनले कांग्रेसको एक मात्र मुद्दा संसद् पुनःस्थापना भएको बताए।
उनले हत्या अभियोग लागेका कालीबहादुर खामजस्ता व्यक्तिलाई संरक्षण गर्न प्रधानमन्त्री लागिपरेकाले दण्डहिनता मौलाएको बताए।
सरकारको आयु लामो छैन : पौडेल
पार्टीका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले यो सरकारको आयु लामो नभएको दाबी गरे।
मोरङको विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले कांग्रेस सडकमा आइसकेकाले अब यो सरकारको आयु लामो नभएको दाबी गरे। उनले सरकारले कांग्रेसलाई सडकमा आउन बाध्य पारेकोसमेत बताए।
सरकारले साइबर सेना परिचालन गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको उनको आरोप छ।
‘भ्रष्टाचार ढाकछोप गर्न संसद् विघटन’
निवर्तमान प्रतिनिधिसभा सदस्य सीताराम मेहेताले यो सरकारले भ्रष्टाचार ढाकछोप गर्न संसद् विघटन गरेको आरोप लगाएका छन्।
कम्युनिष्टहरूले सत्ता चलाउन नसक्ने भन्दै उनले प्रधानमन्त्री ओलीले त्यही कारण अधिनायकवादी कदम चालेको आरोप लगाए।
माघ १९, २०७७ सोमबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।