ललितपुर महानगरको पार्किङमा बदमासी-१ : ठेक्का दिने दिल्ली कि डिल्ली ?

ललितपुर महानगरको पार्किङमा बदमासी-१ : ठेक्का दिने दिल्ली कि डिल्ली ?

काठमाडौँ : ललितपुर महानगरपालिकाको सडक क्षेत्रमा स्मार्ट भेहिकल पार्किङको अनुमति दिँदै २०७६ माघ १६ मा डिस्कभर सिटी प्रालिसँग सम्झौता गर्नेको नाम छ दिल्ली राज शाक्य। उनको पदीय हैसियत वरिष्ठ अधिकृत उल्लेख छ।

१० लाख धरौटी राखेर कुनै प्रतिस्पर्धा नै नगराई एकलौटी रूपमा पार्किङको पैसा उठाउने जिम्मेवारी पाएको प्रालिको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् सौरव रिमालले। उनको पदीय हैसियत हो सञ्चालक।

तर महानगरपालिकामा दिल्ली नाम गरेका कुनै अधिकृत नै फेला परेनन्। जानुका क्षेत्रीलाई साक्षी राखिएको सम्झौता पत्रमा महानगरपालिकाको तर्फबाट हस्ताक्षर गर्नेको स्ट्याम्प भने नाम डिल्ली राज शाक्य थियो।

०००

सडक किनारको साँघुरो ठाउँमा महानगरवासीले अड्याउने सवारीसाधनलाई दुई पाङग्रेको प्रतिघण्टा २० रुपैंया र चार पाङग्रेको ५० रुपैंया उठाउन महानगरले स्मार्ट पार्किङ नाम दिएको छ।

पार्किङको नाममा महानगर क्षेत्रमा भइरहेको लुटको खोजीको क्रममा फेला परेको सम्झौता पत्रमै प्रिन्ट भएको नाम र स्ट्याम्पको नाम फरक परेपछि त्यहाँ उल्लेखित नम्बरमा उकेराकर्मीले नाम पक्का गर्न फोन गर्दा ‘केही बुझ्नुपरे मेयर सापको अनुमति लिएर आउनु’ भन्ने आदेश आयो।

‘तपाईँको नाम दिल्ली कि डिल्ली ?’ 

उनले भने‘जे भए पनि तपाइलाई केही सोध्नु छ भने मेयर सापको बाट चिठी ल्याउनुस्। जसरी लेख्नुहुन्छ,लेख्नुस्। मेयर सापको अनुमति बिना बोल्न मिल्दैन।’

सम्झौता पत्रको स्ट्याम्पको नाम र प्रिन्ट गरिएको नाम फरक भएकाले भेरिफाइका लागि सम्पर्क गरेको जानकारी दिँदै‘हस्ताक्षरकर्ता तपाई नै हो भन्ने जिज्ञासा राख्दा उनले फोन राख्न आग्रह गर्दै भने‘ ‘सेवाग्राहीले कराउन थाली सके,व्यस्त छु।’ फोन काटियो।

सम्झौता नै शङ्कामा

ललितपुर महानगर वडा १३ का अध्यक्ष गणेश केसीको दाबी अनुसार आर्थिक समितिले अनुगमन गरेर कसलाई जिम्मेवारी दिने भन्ने टुङ्गो लगाउने निर्णय भएको थियो।

उनी आर्थिक समितिका सदस्य समेत हुन्। तर सो प्रणालीले ठेक्का पाउँदा आर्थिक समितिका सदस्यले नै त्यसबारे जानकारी पाएनन्।

‘डिस्भर प्रालीसँग पार्किङको सम्झौता गरेको मलाई जानकारी छैन,’ उनले उकेरासँग भने‘अनुगमन गरेर अनुमति दिने भन्ने थियो। तर एकलौटी रूपमा अनुमति दिने काम भएछ।’

उनले ललितपुरका मेयर चिरिबाबु महर्जनलाई समेत जानकारी नदिई कर्मचारीको मिलेमतोमा पार्किङको ठेक्का लागेको दाबी समेत गरे।

‘ यो बारेमा त मेयर साप नै अचम्मित हुनुहुन्छ। उहाँलाई डिस्कभर सिटी प्रणालीसँगको सम्झौता नै थाहा रहेनछ,’उनले दाबी गरे ‘आर्थिक समितिमा म लगायत ६ जना थियौ। हामीले अनुगमन गरेर दिने भनेर हस्ताक्षर गरेका थियौँ। तर हामीलाई नै थाहा नदिई ठेक्का दिइयो।’

मेयर महर्जन अस्वस्थ भएकाले यसबारेमा विस्तृत छलफल गर्न नसकेको उनले बताए। उकेराले यस विषयमा बुझ्न महर्जनसँग सम्पर्क गर्ने प्रयास गरेको थियो। उनको अस्वस्थताले संवाद हुन सकेन।

सार्वजनिक बाटोमा मनपरी शुल्क

१३ वडाका अध्यक्ष केसी प्रारम्भदेखि नै सार्वजनिक सडक किनारमा पार्किङको शुल्क उठाउने कामको विपक्षमा देखिए। सरकारी बजेटमा बनेको बाटोको किनारा निजी कम्पनीलाई व्यापार गर्न दिन नहुने पक्षमा उनी अहिले पनि छन्।

‘जनताले तिरेको करबाट बाटो बनेको हो। सडक किनारमा कति नै ठाउँ छ र । सानो ठाउँमा गाडी अड्याएको पनि पैसा लिने ?’ उनले उकेरासँग भने‘ नाम चैँ स्मार्ट पार्किङ भनिएको छ। तर थप सुविधा के छ त्यहाँ ?’

उनले दिनभरमा निजी कम्पनीले कति पैसा उठाउँछ त्यसको र्निक्यौल गर्ने संयन्त्र समेत नभएको दाबी गरे। 

डिस्कभरको पोल्टामा महानगरका सडक

ललितपुर महानगरपालिका क्षेत्रको सडक किनारमा सशुल्क पार्किङ चलाउन निजी क्षेत्रलाई जिम्मा दिन बोर्डमा प्रस्ताव ललितपुर महानगरका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका दिल्ली(डिल्ली) राज शाक्य र वडा २१ का अध्यक्ष रवीन्द्र महर्जनले ल्याएका हुन्।

डिस्कभर सिटी प्रालिको एकल प्रस्तावको आधारमा सो प्रस्ताव आर्थिक समितिमा आएपछि प्रस्ताव बोर्डमा गयो।

‘आर्थिक समितिले निर्णय गर्ने कुरा थिएन। बोर्डमा पठायौँ,’ आर्थिक समितिमा रहेका रवीन्द्र महर्जनले दाबी गर्दै भने‘ बोर्डमा सबै बसेर छलफल भएर पारित भए पछि सम्झौता भयो।’

सम्झौता भएपछि नै डिस्कभर सिटी प्रणालीले काम थालेको उनले दाबी गरे। उनले डिस्कभरको प्रस्ताव आएकाले डिस्कभरको मात्र प्रस्ताव लगेको दाबी गरे।

सरकारी सम्पत्ति ठेक्कामा भाडामा लगाउँदा बोलपत्र आव्हान गरेर इच्छुकहरूबिच प्रतिस्पर्धा गराउने गरिन्छ। तर ललितपुर महानगर त्यतातिर लागेन। सिधै एकल प्रस्तावलाई नै पास गरायो।

‘कार्यपालिकाबाट, मेयर सापकै अध्यक्षतामा सबै जनप्रतिनिधिको अगाडि प्रस्ताव पारित भएर नै काम अघि बढेको’ उनको दाबी छ।

डिस्कभर सिटी प्रालिका सञ्चालक रिमालले आफूले प्रक्रियागत रूपमा पार्किङको जिम्मेवारी पाएको दाबी गरे।

‘मेयर साप, अन्य जनप्रतिनिधि सबैको अगाडि भएको कुरा हो। कार्यपालिकाको निर्णय पछि काम सुरु गरेको हौँ’ भन्दै उनले डिजिटल पार्किङलाई व्यवस्थित बनाउन काम भइरहेको दाबी गरे।

धुलाम्मे सडकमा पार्किङ, नाम स्मार्ट

महानगरको खुल्ला क्षेत्रमा सुविधाजनक पार्किङ सुविधा उपलब्ध गराएर केही शुल्क उठाउन भन्दै ललितपुर महानगरपालिकाले डिस्कभर सिटी प्रालिलाई सर्वसाधारण गइरहने क्षेत्र ललितपुरको कुमारी पाटी, बटुभैरब,महालक्ष्मिस्थान, लगनखेल, पाटन अस्पताल आसपास, यातायात व्यवस्था कार्यालय आसपास, भनिमण्डल, जावलाखेल लगायतका क्षेत्रमा पार्किङ बापत शुल्क उठाउने जिम्मा दिएको थियो।

२०७६ माघ १६ मा भएको सम्झौतामा‘स्मार्ट भेहिकल पार्किङ सेवा’ चलाउन दिने उल्लेख छ। सम्झौता पत्रमा उल्लेख भए अनुसार महानगरपालिकाको आर्थिक विकास समितिको सिफारिसको आधारमा अन्यत्र पनि उसले शुल्क उठाउन पाउनेछ।

सो प्रालिले चलाउने स्मार्ट पार्किङ कतिको स्मार्ट छ भन्ने बुझ्न यातायात व्यवस्था विभाग पुगे हुन्छ। सडक किनारमा रहेको खाली ठाउँमा धुलौमैलो हुँदै सेवाग्राहीले पार्किङ गरिरहेका छन्। स्मार्टका नाममा प्रालिका कर्मचारीले पार्किङको बिल चैँ प्रिन्ट गरेर दिन्छन् त्यत्ति हो।

सम्झौता  पत्र अनुसार पार्किङ क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने जिम्मेवारी प्रालिको हो। आधुनिक पार्किङ प्रणाली, सिसिटिभी जडान निगरानी, सर्वसाधारण तथा सवारीलाई बाधा नपारी पार्किङ सञ्चालन गर्नुपर्ने उल्लेख छ।

सो प्रणालीले पार्किङ सञ्चालन गरेको अधिकांश स्थानमा उकेराकर्मी डिजिटल विल र कर्मचारीलाई पोसाक बाहेक धेरै स्थानमा अन्य सुविधा जडान भएको देखिएन।

सम्झौता अनुसार काम भएको त देखिएन भन्ने जिज्ञासामा रिमालले भने ‘ हुँदै छ। एपबाट बुकिङ गर्न मिल्छ। रिएलटाइम डाटा लाइभ हुन्छ। अनलाइन पैसा तिर्न सकिन्छ,।’

कुन कुन क्षेत्रमा सिसिटिभी राख्नु भएको छ भन्दा रिमालले अक्मकाउदै भने‘मलाई थाहा छैन। व्यवस्थापनसँग बुझ्नु पर्छ ।’

माघ १८, २०७७ आइतबार २०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।