हराएको स्कुटरमा प्रहरीको खराब नियत

हराएको स्कुटरमा प्रहरीको खराब नियत

काठमाडौँ : पुस २, गते २ बजे गंगबुको जालपाचोकमा होन्डा साइन बाइक र ग्रेजिया स्कुटर एक आपसमा ठोक्कियो। मध्यदिनमै मादक पदार्थ सेवन गरेर बाइक चलाउँदा भएको थियो यो दुर्घटना। 

सरोज थापाले चलाएको बाइक क्षतिग्रस्त भयो। त्यहाँ प्रहरी थिएनन्। प्रहरी नभएको मौका छोपे दुवैले। दुवै बाइकका चालकबिच ग्रेजियामा सवार रोविन बुढाले बाइक मर्मत खर्च व्यहोर्ने र थापाले प्रहरीमा उजुरी नगर्ने सहमति भयो।

सुदूरपश्चिम घर भई काठमाडौँ कोटेश्वरमा परिवारसँगै  बस्दै आएका बुढा विद्यार्थी हुन्। उनले सवारी चालक अनुमति पत्र नै नबनाई भिनाजुको स्कुटर चलाएका थिए। सवारी चालक अनुमति पत्र नभएकाले दुर्घटना भएको दाबी गर्दा आफू पनि फसिने देखेपछि दुबैबिच सहमति भयो।

पुस २

दुर्घटनास्थलबाट अलि पर वर्कसप थियो। दुवै बाइक ठेल्दै उनीहरू जालपा चोकबाट केही मिनेटको हिँडाइमै ‘गुड्ड मोटरसाइकल र्वकशप’पुगे। त्यति बेला तीन बज्नै आटेको थियो।

वर्कसप थियो भारत घर भएका गुड्ड अन्सारीको। उनी एक दशक देखी नेपालमै छन्। पहिला मिस्त्रीको काम गरे। गत मङ्सिरबाट भने आफ्नै वर्कसप खोजे। कोरोनाको असर उनलाई पनि पर्यो नै। काम सुक्खा।

कोरोना कालमा कमै सवारीसाधन आउँथे मर्मत गर्न। त्यो दिन स्कुटर आइपुगेपछि गर्जो टर्ने भयो भनेर उनी मर्मत गर्न राजी भए।

‘कोरोना पछि दुई महिना जति भयो पसल खोलेको। कमाई थिएन। एक्सिडेन्टमा परेको बाइक बनाउन आए,काम नभईराको बेलामा काम आयो,’अन्सारी भन्छन्‘पुलिस केस नगरी बनाउन अप्ठ्यारो थ्यो। आपसी सहमति भएको छ। बनाएछेउ भने। अनि मैले काम सुरु गरे।’

अन्सारीले गे्रजिया स्कुटर त्यसै दिन बनाइदिए। 

‘सामान ल्याउनुपर्यो। मसँग पनि पैसा थिएन,’ अन्सारी भन्छन्‘स्कुटरवालासँग पनि पैसा रहिनछ।’ 

रोविनले साथीभाइ गुहारे। तर, पैसा तत्काल उठ्न सकेन। त्यसपछि रोविनले नागरिकता, लाइसेन्स , विल बुक राख्न अन्सारीलाई अनुरोध गरे। 

‘अर्कैको लाइसेन्स र ब्लु बुक राख् भन्यो,’अन्सारी भन्छन्‘ नचिनेको मान्छेलाई कसरी विश्वास गर्नु? त्यो पनि अर्कैको कागजपत्र।’

अन्सारीले पैसा नदिए सम्म स्कुटर लान नदिने जिद्दी गरे।

घरमा कराउँछन् हेलमेट मात्र भए पनि लान देऊ भने। उनले हेलमेट पनि दिएनन्।

पुस ३ 

भोलिपल्ट बुढा दिनभर  अन्सारीसँगै र्वकशपमै बसे।

पहिला २५ हजारमा बन्छ जस्तो लागेर अन्सारीले त्यही भनेका थिए। तर सामान थप्दै जाँदा पैसा ३१ हजार पारिपुग्यो। अन्सारी र बुढा बिच पैसाको विषयमा विवाद भयो।

‘घरमा गाली गर्छन्, बाकी पैसा पछि दिन्छु, लाइसेन्स राख,  स्कुटर लान दे भनेर बारम्बार भन्यो तर मैले मानिन,’ अन्सारीले भने‘ हेलमेट दिँदा त्यसलाई सजिलो हुन्छ भने दिऊ न भनेर हेलमेट चैँ दिए।’

हेलमेट दिए पछि बुढाले अन्सारीलाई २० हजार दिए। बनाउन २९ हजार र स्कुटर मर्मतमा २ हजार गरी खर्च ३१ हजारमा पुगेको थियो खर्च। पछि ३० हजारमा कुरा मिल्यो। 

पैसा पाएपछि अन्सारी सामान लिन ग्यारेजबाट निस्किए। वर्कसप छेउको क्याफेमा बुढा  हेलमेट लिएर चिया पिउन थाले।

दिन भर बुढाको मान्छे वर्कसप नजिक आउने जाने गरिरहेका थिए। अन्सारी भन्छन्‘ पैसाको लागि साथीभाइलाई बोलाएको होला ठानेर वास्ता गरिन।’ 

अन्सारी सामान लिन हिँडेको १० मिनेटपछि बुढा क्याफेबाट निस्किए।

अन्सारी सामान लिन बसपार्क गए। त्यहाँ सामान नपाएपछि वर्कसपको सहायकसँगै उनीहरू गंगबु खरिबोर गए।

गंगबु विगमार्ट अघि स्कुटर पार्क गरेर उनी सामान किन्न गए। नाताले सालो पर्ने स्कुटर नजिकै थिए। उनी पसलबाट फर्केर आउँदा सालो रोइरहेको थियो। स्कुटर राखेको ठाउँमा थिएन।

‘खोइ को आएर स्कुटर लग्न लागेछ। सालो मेरो स्कुटर हो भनेर झुन्डिँदा पनि नछाडी स्कुटर लिएर भाग्यो।’

स्कुटर नम्बर थाहा थिएन उनलाई। प्रहरीलाई नम्बर टिपाउन उनले स्कुटर धनी बुढालाई फोन गरेर नम्बर मागे। उनले एक छिनमा दिन्छु भनेर मोबाइल अफ गरेर बसे।

स्कुटर चोरी भएपछि अन्सारी तुरुन्तै प्रहरीकोमा पुगेको दाबी गर्छन्। ‘म तुरुन्तै पुलिसकोमा पनि गए। स्कुटर नम्बरले भन्छ, आफूलाई थाहा छैन,’अन्सारी भन्छन्‘ नम्बर थाहा हुनेलाई फोन गर्यो लाग्दैन।’

वरिपरि सिसिटिभी थियो। चोर पत्ता लाग्छ कि भनेर अन्सारी वरिपरिको पसलमा गए। तर त्यो बेला बत्ती गएको थियो त्यहाँ। काम लागेन।

पुस ४ 

पुस ४ गते बुढा  वर्कसप आइपुगे। तर स्कुटर त अघिल्लै दिन चोरी भइसकेको थियो। बनाउन दिएको स्कुटर हराएको भन्दै उनले अन्सारीसँग पैसा माग्न थाले।

‘मैले बनाउन दिएको स्कुटर हराए छ। हराएपछि हर्जाना तिर्नु पर्यो नि,’ बुढाले उकेरासँग भने‘ बनाउन दिएको हो। हराउन होइन नि।’ 

बुढाले अन्सारीलाई हेलमेट फिर्ता दिए। अनि महानगरीय प्रहरी प्रभाव गंगबुमा अन्सारी विरुद्ध  उजुरी दिए। अन्सारीलाई प्रहरीले पक्राउ गरेर लग्यो। प्रहरीले कि पैसा ले कि स्कुटर ले भनेर पेलेको उनको दाबी छ।

उनलाई प्रहरीले चोर भनेपछि निक्कै चित्त दुखेछ। ‘चोरी गर्ने भए वर्कसप खोलेर बस्थे र’ उनले भने।

प्रहरीले स्कुटरको पैसा नदिलाई नछाड्ने भयो। स्कुटर कसरी वर्कसपमा पुग्यो त्यतातिर प्रहरीले चासै दिएन।

मापसे गरेर सवारी चलाउनु दण्डनीय काम हो। त्यसमा पनि सवारी चालक अनुमति पत्रै नभई सवारी चलाउँदा दुर्घटना भएको थियो। दुर्घटना लुकाउन दुवै पक्ष वर्कसपमा पुगेका थिए।

त्यतातिर प्रहरीको चासो थिएन। उनीहरूले कि स्कुटर ले कि पैसा दे भनेर अन्सारीलाई पेलिरहे।

उनको वर्कसप दर्ता भने गरेका रहेनछ। स्कुटरको हर्जाना तिर्ने पैसा पनि थिएन। उनले नाताले मामा पर्नेलाई फोन गरेर चौकी बोलाए। उनको मामा आएपछि ‘दुई महिनाभित्रमा एक लाख ७५ हजार तिर्ने कागजमा ल्याप्चे हनाएर प्रहरीले छाड्यो।

‘उसैले बिना लाइसेन्स चलाएको छ । बनाएको पैसा पनि दिएन,’ अन्सारीले भने‘ स्कुटर कसरी हरायो, हरायो, अब त्यही स्कुटर चाहिन्छ। कि पैसा चाहिन्छ  भनेर तर्साइरहे। समस्यै पर्ला जस्तो लाग्यो। ऋण लागे पनि लागोस् भने कागज गरे।’

स्कुटर धनी सन्तोष धामी दबाबले नभई सहमतिले कागज भएको दाबी गर्छन्। 

‘म सरकारी कर्मचारी हु। मैले २०७६ मा मेरो भाइको कम्पनीको लागि झिकेको हो स्कुटर,’ उनले भने‘ स्कुटर पछि सालोले चलाउन थालेछ। लाइसेन्स थिएन उ सँग। खोइ के गरेर मिलायो।’ 

सम्झौता अनुसार अन्सारीले दुई महिना भित्र स्कुटर खोजेर दिनुपर्ने, यदि नभेटिए पैसा तिर्नुपर्ने छ।  २ महिनाभित्र पैसा तिरेपछि स्कुटर भेटिएमा अन्सारीले दिने धामीले दाबी गरे।

प्रहरीको बेसुरे बोली

स्कुटर हराएको निवेदन आए पनि स्कुटर हराउनुको पछाडिका घटनामा प्रहरीले चासो राखेको छैन। उसले उल्टो आफ्नो रोहवरमा सवारी चालक अनुमति पत्र नै नबोकी सवारी चलाउनेलाई नै पैसा दिलाउने गरी कागज गराइदियो।

स्कुटर चोरी भएको निवेदनमै उल्लेख छ । तर उसले चोरी भएको स्कुटर खोज्न पनि चासो राखेको देखिएन।

‘हामीलाई बनाउन दिएको स्कुटर हरायो भनेर निवेदन आएको हो,’ महानगरीय प्रहरी प्रभाग गंगबुका प्रहरी निरीक्षक रमेश विष्टले भने ‘पुस ३ मा उनीहरूबिच आपसी सहमति भएछ।’

उनले तीन गते सहमति भएको दाबी गरे पनि सहमतिको मिति भने भोलिपल्ट देखिन्छ। विष्टको दाबी अनुसार त स्कुटर चोरी हुनुभन्दा अगाडि नै उनीहरूबिच सहमति भएको देखियो जुन सम्भव थिएन।

दुर्घटनातिर किन नहेर्नु भएको भन्ने जिज्ञासामा उनले रुचि देखाएनन्। उनी स्कुटर हराएको घटनाबारे मात्रै बोल्दै थिए‘ हराई दिए पछि पैसा त तिर्नु पर्यो नि,’ विष्ट भन्छन् ‘अब हामीले मूल्य तोक्दिन मिलेन। बाहिर सम्झौता गरे आएछन्।’ 

अन्सारीले प्रहरी कार्यालयमा हराएको ००८प ५८४२ स्कुटरको विवरणसहित खोजी पाउँ भनेर निवेदन दिएका छन्। यो बिचमा स्कुटर भेटिए ऋण लाग्दैनथ्यो भन्नेमा छन् उनी। एक महिना हुन लागिसक्यो स्कुटर हराएको। फेला परेको छैन।

‘खै पैसा नतिरी हुँदैन जस्तो छ,’निराश हुँदै उनले भने‘खोजिदिने पुलिसले हो। तर खोजिदिँदैनन्। मेरो कुरा पनि सुन्दैनन्।’

माघ १८, २०७७ आइतबार १७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।