गणतन्त्रमा पनि त्रिभुवन चार शहीदको काँधैमा

माघ महिनामा सहिदसँग जोडिएका अनेक तथ्यहरू उत्खनन हुन्छन्। सालिकमा रोइलो चल्छ। लाइन लाग्छ नेताहरूको। अबिर मालाले छपक्कै ढाकिने त्यो सालिकलाई बाँकी ११ महिना कसैले फर्केर पनि हेर्दैन। अबिर र मालाले बिरूप बन्छ सालिक। माला झिकिदिने जाँगर समेत हुन्न कसैलाई।
१० लाखको लोभले टन्नै शहीद जन्मायो यो देशमा। सरकारी पाना पल्टाउने हो भने त हजारौँको नाम शहीदको सूचीमा छ। अपराधीले हत्या गरेकादेखि सवारी दुर्घटनामा मरेकासम्म। तर तीनका नाम उनकै परिवारमा मात्र समेटिएको छ।
धन्न राणा शासनविरुद्ध लडेर ज्यानको आहुति दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ’ स्मृतिबाट हराइसकेको छैन। शहीद शब्दले चिनाउने उनीहरू नै त हुन्।
तर यी चार शहीद पनि थिचिएका छन् राजा त्रिभुवनबाट। राणाहरूले कैदी बनाएर राखेका उनी फुत्त नारायणहिटीबाट भागेर भारत पुगे। खै के योगदान छ कुन्नि उनको २००७ को परिवर्तनका लागि, उनका सन्तान नारायणहिटीबाट निर्मल निवास पुग्दा पनि शहीद गेटमा शहीदको शिरमा विराजमान छन् उनी।
भारत भाग्नु अनि नेपालमा क्रान्ति सफल भएपछि प्लेन चढेर देश फर्कनु नै शहीदभन्दा ठुलो योगदान हो त ? कि यी चार शहीद भन्दा पनि महत्त्वपूर्ण योगदान छ उनको २००७ को राजनीतिक परिवर्तनमा ?
इतिहासकार राजेश गौतमको विश्लेषणमा त्रिभुवन आफ्नो स्वार्थकालागि प्रजातन्त्रको पक्षधर देखिएका मात्र हुन्। उनी नेपाल प्रजा परिषद्को केन्द्रीय सदस्य समेत थिए। ‘सुरुवातमा प्रजातन्त्रवादी देखिए पनि उनी प्रजातन्त्रवादी नै हुन् भन्ने आधार छैन’ गौतमले भने।
इतिहासकार दिनेशराज पन्तको विश्लेषणमा त्रिभुवनले थिति हेरेका हुन्। उनी बिना पनि नेपालमा प्रजातन्त्र आउँथ्यो।
पन्त भन्छन्‘राणा शासनको अन्त्य लगतै उनी बराजु(सुरेन्द्र वीर विक्रम शाह)ले गुमाएको सत्तामा फर्किए। उनको पालामा नेपालीले प्रजातन्त्र भनेको के हो राम्रोसँग बुझेका थिएनन्। जब महेन्द्रले २००७ सालको राजनीतिक उपलब्धि खोसे अनि मात्र आम नागरिकले प्रजातन्त्रले के अधिकार दिने रहेछ अनुभव गर्न सके।’
हरेक माघको १६ गते सम्झना गरिने चार शहीदलाई फासिमा झुन्ड्याउने लालमोहर हेर्ने हो भने त्यहाँ राजा त्रिभुवनकै लालमोहर छ। कति यसलाई राणाहरूको कब्जामा परेकाले बाध्यतावश उनले लालमोहर लगाएको तर्क गर्छन्।
तर पन्त चार शहीदलाई फाँसी दिने आदेशमा लालमोहर लगाउने त्रिभुवनको कदम बाध्यात्मक नभई भित्री रहस्य अर्कै रहेको दाबी गर्छन्।
‘त्रिभुवनले ती चार जनालाई मार्न तोक लगाउनुको कारण कमजोर शक्ति मात्र होइन,’ उनले भने‘राणाहरूलाई सक्काउन उनीहरुविरुद्ध जनमत बटुल्नु पनि थियो। यी चारैजनालाई फाँसी भएपछि जनता राणाविरुद्ध भड्किन सक्थे। त्यसले उनी बलियो हुन सक्थे।’
भयो पनि त्यस्तै। राणा शासनविरुद्ध जनमत बढाउन यी चार शहीदको सहादतकै बलमा २००७ सालको परिवर्तन सम्भव भएको थियो।
शहीद र प्रजातन्त्र
इतिहासकार गौतमका अनुसार जनता र राजा दुवैले राणा शासन मन पराएका थिएनन्। तर तत्काल राणा शासन ढाल्न सक्ने शक्ति न राजासँग थियो न जनतासँग।
शक्ति सञ्चयका लागि राजनीतिक दल आवश्यक पर्थ्यो। मोर्चा बन्यो प्रचण्ड गोर्खा । तर यो सफल भएन।
राणा विरुद्ध लड्न भरपर्दो माध्यमको खोजीमा थिए त्रिभुवन पनि। राणा विरुद्ध काम गर्न उनले दरबारमै ‘रक्तपात समिति’ नामक मोर्चा गठन गरेका पनि हुन्। तर, त्यो मोर्चाले काम सुरु गर्न नपाउँदै डिसमिस भयो।
राणाहरूको कैदबाट मुक्त भएर शासन सत्ता आफ्नो हातमा फिर्ता ल्याउन त्रिभुवनलाई गतिलो हतियारको खाँचो थियो। त्यही बेला टङ्कप्रसाद आर्चाय र रामहरि शर्माको नेतृत्वमा प्रजा परिषद् गठन गरे। त्रिभुवन त्यसको संस्थापक सदस्य नै बने।
‘उनी राणा विरोधी आन्दोलनमा सदस्य हुँदा प्रजातन्त्रकै लागि हो भन्ने भान सबैलाई परेकै हो,’ इतिहासकार गौतम भन्छन् ।
विक्रम संवत् १९९७ मा राणा विरोधी आन्दोलनका चार सदस्यलाई उनीहरूले बर्बर तरिकाले झुन्ड्याएर मारे। उता भारतमा पनि स्वतन्त्रताको आन्दोलन भइरहेको थियो। नेपालीलाई त्यसले पनि प्रभाव पार्यो।
विश्वेश्वरप्रसाद कोइराला लगायतकाहरु नेपालमा राजनीतिक आन्दोलन सुरु गर्ने अवसरको खोजीका थिए। भारतमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाली काँग्रेस गठन भयो। पछि दुवै दल मिलेर नेपाली काँग्रेस भएपछि नै नेपालमा २००७ सालको आन्दोलन सफल भएको थियो।
धेरैले त्रिभुवन भारत गएकाले नेपालमा राणा शासन ढाल्न सहज भएको विश्लेषण गर्छन्। तर इतिहासकार गौतमको विश्लेषण अलि फरक छ। उनको तर्क अनुसार भारतका तत्कालिन् प्रधानमन्त्री जवाहरलाल नेहरुसँग बिपी कोइराला, मातृका प्रसाद कोइराला र सुवर्ण शमशेरको राम्रो सम्बन्धका कारण उनीहरूलाई भारतमा बसेर नेपालमा राणा विरोधी आन्दोलन चर्काउन सहज भएको थियो।
‘राणाहरूले चार जनालाई फाँसी दिएपछि नेपालमा राणा विरोधी माहौल बन्न थाल्यो। त्यति बेला जनताले संवैधानिक राजतन्त्र चाहेका थिए,’ गौतम भन्छन्‘ पुष्पलालले पनि नेपाल कम्युनिस्ट पार्टी गठन गरिसकेका थिए। जनविद्रोह आवश्यक छ भन्ने सबै प्रजातन्त्र प्रेमीहरूमा थियो।’
नेपालमा राणा शासनविरुद्ध जनमत बन्दै गएपछि काँग्रेसले त्रिबम मल्लको नेतृत्वमा वीरगन्ज आक्रमण गरेर सशस्त्र आन्दोलनको सुरुवात गरेको थियो।
‘राजालाई राणाहरूले अनेक बहाना बनाएर फकाउन सक्थे। त्यसैले काँग्रेसले राजालाई दरबार बाहिर राख्ने निणर्य गरेको हो त्यो बेला,’ गौतमले भने‘सुरुमा पाल्पामा लगेर राख्ने कुरा भएको थियो। त्यति बेलाका पाल्पाका बडा हाकिम रुद्र समसेरले पनि मन्जुरी दिएका थिए। तर भारतले पाल्पामा राख्न नमानेपछि उनी भारतीय दूतावासको शरण लिँदै भारत पुगे।’
त्रिभुवन भारत गएपछि नाबालक ज्ञानेन्द्रलाई राजा बनाएर राणाहरूले शासन टिकाउने प्रयास नगरेका हैनन्। तर सकेनन्। राजा नै देशमा नभएपछि जनमत भड्कियो। संवैधानिक राजा बन्न त्रिभुवन राजी भइसकेका थिए। त्यो सन्देश नेपाल आयो। राणा विरोधी सशस्त्र आन्दोलन तीव्र बन्दै गयो र २००७ सालको राजनीतिक उपलब्धि आयो।
राजा त्रिभुवनको स्वार्थ र प्रजातन्त्र
त्रिभुवनका बराजु सुरेन्द्र वीर विक्रमलाई जालझेल गरी जङ्गबहादुर राणाले शासन आफ्नो हातमा लिएको एक शताब्दी हुन लाग्दा पनि राजाहरूले आफ्नो गुमेको राजकीय शक्ति फिर्ता ल्याउन सकेका थिएनन्।
उनीहरू खोपीका देउता भएका थिए। राणाहरूको दास समान। स्वतन्त्र हुन को चाहँदैन र । राजा पनि चाहन्थे। राणाहरूको कैदबाट मुक्त हुने आशमै त्रिभुवन प्रजातान्त्रिक शक्तिसँग निकट भएका थिए।
राणाको दास भन्दा संवैधानिक भएर कानुनबाट बाँधिन उनी तयार भए। त्यो उनको बाध्यता थियो। उनी संवैधानिक राजा भएर बस्न राजी भएकाले उनलाई राष्ट्रपिता समेत भनिन थालियो। तर यसमा इतिहासकार गौतमको विमति छ।
‘पहिला त्रिभुवनले प्रजातन्त्र चाहेका हुन्। तर राजगद्दीमा फर्किएपछि उनको व्यवहार बदलियो,’ उनले भने‘ इतिहास हेर्दा नेताहरू बिचको खिचातानीका कारण त्यो बेलामा संविधान सभा सम्भव नभएकोझैँ देखिए पनि त्यसको कारण त्रिभुवनको अप्रजातान्त्रिक व्यवहार थियो।’
गौतमको मत अनुसार राजा त्रिभुवन जनताको अधिकार हैन आफ्नो राज पाठ फर्काउन चाहन्थे। २००७ सालको परिवर्तनले राणाहरूको कब्जामा पुगेको शक्ति फर्कियो। सेना उनको मातहतमा आयो। दलका नेताहरू पनि सत्ताका लागि विभाजित भए। यसलाई उनले राजतन्त्र बलियो बनाउने हतियारको रूपमा प्रयोग गरे।
‘यदि उनी साँच्चै प्रजातन्त्रवादी थिए भने शहीदको सपनालाई कुल्चिएर आफू शक्तिशाली हुनेतिर मात्रै लाग्दैनथे। गरेको वचन अनुसार संविधान सभा मार्फत संविधान बनाउँथे। जनतालाई अधिकार सम्पन्न गराउँथे। तर उनले त्यसो गरेनन्।’
चारै जना शहीद हुन् त ?
इतिहासकार दिनेशराज पन्त गङ्गालाल बाहेक अन्य तीन जना शहीद हुन् या हैनन् भन्नेमा बहस आवश्यक रहेको बताउँछन्। ती चारमध्ये को को शहीद बने, को सहिद बनाइए भन्ने पक्षमा बहस हुनुपर्ने उनको मत छ।
‘हामीले शहीद मानिरहेका ती चार जनाले त्यति बेला ठुलो विद्रोह गरेका हुन्। त्यसमा दुई मत छैन,’ उनले भने‘ तर गङ्गालाल बाहेक अरू सबैको दरबार र राणासँग राम्रो साँठगाँठ देखिन्छ। ती चार जनालाई शहीद बनेका हुन् कि बनाइएका हुन् भन्ने तर्फ पनि अब बहस आवश्यक छ।’
उनले प्रमाणहरू राखे :
‘शुक्रराज शास्त्रीले आफ्नो हरेक किताबमा चन्द्रशंसेर देखी जुद्ध समसेरसम्मको स्तुति गरिरहेका थिए। धर्मभक्त दरबारीया नै थिए। चन्दको रुद्र शसशेरकीे छोरीसँग त्यतिकै सम्बन्ध विस्तार हुन पक्कै खोजेन। उनीहरू भन्दा कट्टर प्रजातन्त्रवादी अरू पनि थिए। अरू बाँच्दा उनीहरू मात्रै किन मारिनु पर्यो’ पन्तले भने।
पन्तको दृष्टिकोणमा पनि त्रिभुवन र ती चार शहीदको दर्जा एकै हुनै सक्दैन।
‘राणाको चेपुवा फुकुवा भएपछि त्रिभुवनको शासन राणाको भन्दा नरम देखिन पुग्यो केही समय। तर २०१०/११ बाट भने उनको रूप फेरियो,’ पन्त भन्छन् ‘ त्रिभुवनले जे चाहे त्यो पाए। शक्ति पाइसकेपछि उनले शक्ति आफू केन्द्रित गर्न थाले।’
नेपालमा प्रजातन्त्र ल्याउन राजा त्रिभुवनको भन्दा पनि बिपी कोइराला, मातृका प्रसाद कोइराला, सुवर्ण समसेर र नेहरुको ठुलो हात रहेको दुवै इतिहासकारको मत छ।
यी दुवै इतिहासकारको मत अनुसार त्रिभुवनको कद चार शहीद बराबर हुनै सक्दैन। उनको हैसियत शहीद गेटमा ती चार शहीदको काँधमा बस्ने थिएन। र, छैन।
तर गणतन्त्रमा पनि त्रिभुवन ती चार शहीदको काँधैमा छन्।
माघ १६, २०७७ शुक्रबार ०७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।