प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बिहीबार) सम्पन्न आफ्नो तेस्रो खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गरेको हो।  यसअघि पुलिसले हिजो सुदूरपश्चिम प्रदेशको टोलीलाई ९ विकेटले पराजित गरेको थियो। 

आज सम्पन्न खेलमा ३११ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३७ रन जोडेपछि पुलिसले सहजै जित निकाल्यो। 

लुम्बिनीका लागि सौरभ खनालले आक्रामक पारी खेल्दै ७४ रन जोडे पनि टिमलाई जित दिलाउन सकेनन्। ६० बलको सामना गरेका उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै, देव खनालले ४९ र सन्दीप रजालीले ४० रनको योगदान दिए। कप्तान कृष्ण कार्की ४० रनमा अविजित रहे। 

बलिङतर्फ पुलिसका रासिद खान र पवन सर्राफले समान २ विकेट लिँदा ललित राजवंशी, सागर ढकाल र दीपेन्द्र सिंह ऐरीको नाममा १-१ विकेट रह्यो। 

त्यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन जोडेको थियो। उसका लागि सुनिल धमलाले १०४ रनको पारी खेले।

यस्तै, दीपेन्द्र सिंह ऐरीले ८५ रन बनाउँदा पवन सर्राफले कीर्तिमानी ५० (१३) रन जोडे। यो प्रधानमन्त्री कपमा सबैभन्दा कम बलमा प्रहार गरेको अर्धशतक हो। 

बलिङमा दीपेन्द्र रावत, कृष्ण कार्की, अनिल खरेल र सौरभ खनालले समान १ विकेट लिए। 

खेलको म्यान अफ दि म्याच सुनिल धमला घोषित भए। 

अर्काे खेलमा सशस्त्र प्रहरी बलको टोलीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। 

माघ ८, २०७७ बिहीबार १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।