प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेशको लगातार दोस्रो जित

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज (सोमबार) सुदूरपश्चिम प्रदेशलाई १८० रनको फराकिलो अन्तरले पराजित गर्दे बाग्मतीले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। यसअघि उसले हिजो नेपाल प्रहरीको टिमलाई ७ विकेटले पराजित गरेको थियो।
प्रधानमन्त्री कप क्रिकेटमा बाग्मतीद्वारा जितको सुरुवात, पुलिस ७ विकेटले पराजित
जितसँगै बाग्मतीले प्रतियोगिताको अंकतालिकामा ४ अंक हासिल गरेको छ।
आजको खेलमा ३०० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको सुदूरपश्चिम प्रदेशको टोली १ सय १९ रनमा समेटिएको थियो।
सुदूरपश्चिमका नारायण जोशीले आक्रामण ब्याटिङ गर्दै अविजित ४४ रन बनाएका थिए। उनले २९ बलमा १ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै, अर्जुन साउदले ३१ र किरन ठगुन्नाले २४ रनको योगदान दिएका थिए। अन्यले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन्।
सुदूरपश्चिमको ब्याटिङ ध्वस्त गर्न बाग्मतीका रामनरेश गिरीले ४ विकेट लिए। यस्तै, नन्दन यादव २ तथा दीपेश श्रेष्ठ, तिलक भण्डारी र विपिन आचार्यले १–१ विकेट चट्काए।
त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको बाग्मतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो। उसका लागि पृथु बाँस्कोटाले सर्वाधिक ८४ रन बनाएका थिए। यस्तै, ओपनर आदिल खानले ६३ रन बनाएका थिए। कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२ रन जोड्दा पारस खड्काले २०, ईशान पाण्डेले १७ र आकाश थापाले १३ रन जोडे। रामनरेश गिरी भने १० रनमा अविजित रहे।
बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले सर्वाधिक ३ विकेट लिए। यस्तै, सन्तोष भट्ट र भोजराज भट्टले समान २ विकेट लिँदा विनोद लामाको नाममा १ विकेट रह्यो।
माघ ५, २०७७ सोमबार १८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।