प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको पहिलो जित

उसले प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा आज (सोमबार) प्रदेश १ लाई २ विकेटले पराजित गरेको हो।
१०३ रनको झिनो लक्ष्य पछ्याएको गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाउँदै जित हासिल गर्याे।
उसका लागि अर्जुन कुमाल र दीपक डुम्रेले समान ३५ रन जोडे। अभिषेक थापा १३ रनमा अविजित रहे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको रन छुन सकेनन्। गण्डकीका तीन खेलाडी ० रनमै आउट भएका थिए।
बलिङमा मिनाश थापा र शुभांकर उरावोले समान २ विकेट लिँदा दीपेश कँडेल र हेमन्त राईको नाममा १–१ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ २७.४ ओभरमा १०२ रनमै अलआउट भयो।
उसका लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रन जोडेका थिए। यस्तै, मिनाश थापाले २२, शुभांकर उरावोले १२, दीपक पासवानले ११ र दीपेश कँडेलले १० रनको योगदान दिए।
गण्डकीका विशाल पौडेल र सुवास भण्डारीले ४–४ विकेट लिए। यस्तै, विपिन खत्रीले दुई विकेट चट्काए।
जितसँगै गण्डकीले प्रतियोगिताको अंकतालिकामा २ अंक जोडेको छ। प्रदेश १ भने अंकविहीन छ। ऊ प्रतियोगितामा लगातार दोस्रो खेलमा पराजित भएको छ।
माघ ५, २०७७ सोमबार १४:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।