सीमा विवादमा वार्ता गर्न चाहन्छौ : परराष्ट्रमन्त्री ज्ञवाली 

सीमा विवादमा वार्ता गर्न चाहन्छौ : परराष्ट्रमन्त्री ज्ञवाली 
TWITTER: @EONINDIA

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बैठकमा सीमा विवादसँगै नेपालले शीघ्र कोरोनाभाइरस विरुद्धको खोप पाउनेबारे आश्वासन पाएको बताएका बिबिसीले उल्लेख गरेको छ । “नेपालमा सुरुवाती चरणकै लागि भारतबाट खोप उपलब्ध हुनेछ।“ उनले भने । 

बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशङ्करबीच एक्ला एक्लै वार्तासमेत भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले यसअघि जारी गरेको विज्ञप्तिमा बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड १९ सहकार्य, पूर्वाधार र सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन, संस्कृति सहितका विषय पर्ने उल्लेख गरेको थियो।

तर ज्ञवाली दिल्ली पुगेकै दिन बिहीबार साँझ भारतको विदेश मन्त्रालयका प्रवक्ताले सीमाका विषयमा हुने संवादकाबारे भिन्न टिप्पणी गरेका थिए।

पत्रकारहरूले सीमा विवादसम्बन्धी संवादका विषयमा सोधेको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले “सीमाका विषयमा हाम्रो अडान जगजाहेर छ। र म के कुरा स्पष्ट पार्न चाहन्छु भने संयुक्त आयोग र सीमा बैठक फरक फरक संयन्त्र हुन्।“ भनेका थिए ।

भ्रमणअघि सार्वजनिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा “नेपालले भारतले अतिक्रमण गरेको भूमि भन्दै आएको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र फिर्ता गराउने विषयमा कुराकानी हुने“ बताएका थिए।

तर आज शुक्रवारको बैठकमा सीमाको विषय कुन रूपमा उठ्यो भन्ने राजदूत आचार्यले खुलाउन चाहेनन्।

सो बैठकमा दुई देशका प्रबुद्ध व्यक्तिहरूको समूहले तयार पारेको ईपीजी प्रतिवेदन ’बुझ्नुपर्छ’ भन्नेबारे कुरा भएको तर त्यो ’कहाँ, कहिले र कतिखेर’ भन्ने टुङ्गो नभएको राजदूत आचार्यले बताए।

अघिल्लो वर्ष भारतले कालापानी क्षेत्र हुँदै तिब्बत जोड्ने एउटा सडक उद्घाटन गरेपछि नेपालले त्यसप्रति विरोध जनाउँदै लिम्पियाधुरासम्म समेटिएको आफ्नो नयाँ नक्सा जारी गरेको थियो।

जसलाई भारतले अस्वीकार गरेपछि दुवै देशबिच कूटनीतिक स्तरमा चिसोपन देखा परेको थियो।

त्यसअघि कश्मीरको विशेष हैसियत समाप्त पार्ने क्रममा भारतले कालापानी क्षेत्र सहितको भूभाग समेटेर नक्सा जारी गरेपछि पनि नेपालले विरोध गर्दै भारतलाई कूटनीतिक पत्र पठाएको थियो।

उक्त विवादपछि भारततर्फबाट त्यहाँका बाह्य गुप्तचर निकायका प्रमुख, स्थल सेनाध्यक्ष र परराष्ट्र सचिवले नेपालको भ्रमण गरिसकेका छन्।

ज्ञवालीको भारत भ्रमण उक्त विवादयता नेपालको तर्फबाट भएको सबैभन्दा पहिलो उच्चस्तरको भ्रमण हो।

 

माघ २, २०७७ शुक्रबार १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।