गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ घाइते

काठमाडौं : गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको खर्क नजिकैको ओरालोमा ग१ज ५०८६ नम्बरको जिप दुर्घटना भएको हो।
दुर्घटनामा परी अर्बेनीका २५ वर्षीय बेहुला कृष्ण पाण्डेसहित ६० वर्षीय ओमप्रसाद पाण्डे, ५५ वर्षीय शोभाखर पाण्डे, ५५ वर्षीय खीमानन्द पाण्डे र ५० वर्षीय शिवलाल पाण्डे घाइते भएका छन्।
यस्तै, २८ वर्षीय गोविन्द पाण्डे, २६ वर्षीया तुल्सा पाण्डे, २४ वर्षीय हिमाल पाण्डे, २० वर्षीय नवीन पाण्डे, १६ वर्षीय विष्णु पाण्डे, १४ वर्षीया हीरा पाण्डे र ५ वर्षीय शिरीष पाण्डे घाइते भएको प्रहरीले जनाएको छ।
अर्बेनी कोटबाट स्याङजाको जैपते जाँदै गरेको उक्त जिप सडकबाट अन्दाजी १८ मिटर तल खसेको थियो।
घाइतेहरूको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले जिप चालक कालीगण्डकी गाउँपालिका–४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
माघ १, २०७७ बिहीबार १९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।