ढाका म्याराथुनमा पुष्पा भण्डारीले जितिन् स्वर्ण

काठमाडौं : नेपाली धावक पुष्पा भण्डारीले बंगलादेशमा ढाकामा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ मा स्वर्ण पदक जितेकी छन्।
उनले प्रतियोगिताको दक्षिण एसियाली महिलातर्फ भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन्। उनले निर्धारित दौड २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरिन्।
स्वर्ण जिते पनि उनले आफ्नै नामको राष्ट्रिय कीर्तिमान तोड्न भने सकिनन्। पछिल्लो दक्षिण एसियाली खेलकुद (साग)की रजतधारी उनले २ घण्टा ५० मिनेट ११ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
उक्त स्पर्धामा भारतीय खेलाडी ज्योति गवाती दोस्रो भइन्। उनले ३ घण्टा ४६ सेकेण्डमा दौड पूरा गरेकी थिइन्। यस्तै, भारतकै गिगमत डोल्माले ३ घण्टा ९ मिनेटमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरिन्।
दक्षिण एसियाली पुरुषतर्फ नेपालका साग स्वर्णधारी किरणसिंह बोगटी चौथो स्थान हासिल गरे। उनले २ घण्टा २४ मिनेट १३ सेकेण्डमा दौड पूरा गरे।
उक्त स्पर्धामा भारतका बहादुर सिंहले स्वर्ण जिते। उनले २ घण्टा २१ मिनेट ४० सेकेण्डमा दौड पूरा गरे। भारतकै खेलाडी दोस्रो र तेस्रो भए।
प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको थियो।
पुष २६, २०७७ आइतबार १४:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।