नेकपा विवाद : प्रदेश १ मा कारबाहीको होडबाजी

नेकपा विवाद : प्रदेश १ मा कारबाहीको होडबाजी

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहमा एक अर्कालाई कारबाहीको होडबाजी नै चलेको छ। 

मंगलबार दाहाल–नेपाल समूहका संसदीय दलका उपनेता टंक आङबोहाङले मुख्यमन्त्री शेरधन राईलाई महत्त्वपूर्ण निर्णय नगर्न पत्राचार गरेका छन्। 

अल्पमतमा परेका मुख्यमन्त्री राईलाई दैनिक कामकाजबाहेक अन्य निर्णय नगर्न उनले सचेत गराएका हुन्।

‘मुख्यमन्त्री राई अल्पमतमा परेकोले दूरगामी असर गर्ने खालका निर्णय नगर्न भन्दै पत्राचार गरिएको छ’ आङबोहाङले पत्रकार सम्मेलनमा भने,‘विधानअनुसार बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको अवस्थामा संसदीय दलको नेताको हैसियतले काम गर्न पाउदैनन्।’

पुस १२ गते नेकपाका ३७ सांसदहरूले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट हटाउन संसदीय दल तथा प्रदेशसभामा राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। 

मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूलाई हस्ताक्षर गराउने नेतृत्व थालेको भन्दै शनिबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वोलाई पदबाट बरखास्त गरे। त्यसको भोलिपल्ट बिहान दाहाल–नेपाल समूहका तीन मन्त्रीले पदबाट राजीनामा दिए।

आफ्नै दलका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक बुध्दिकुमार राजभण्डारीले हस्ताक्षर गर्ने मध्येका १९ जनालाई २४ घण्टा भित्र लिखित स्पष्टिकरण दिन पत्रचार गरे।

ओली समूह यति बेला स्पष्टिकरण सोधिएकाहरूलाई सांसदबाट कसरी हटाउन सकिन्छ भन्ने कानुनी राय लिन व्यस्त छ।

दाहाल–नेपाल समूहमा रहेका उपनेता आङ्बुहाङले पुस १९ गते ११ बजे प्रदेशसभा भवनमा नेकपा संसदीय दलको बैठक बोलाएका छन्। उनले सबै सांसदहरूलाई लिखत पत्र लेख्दै प्रदेश सभा सचिवायलमा छोडेका छन्। सचिवालयले फोन गरेर सांसदहरूलाई जानकारी दिइरहेको छ। 

ओली समूहले भने १९ गते हुने भनिएको दलको बैठक आधिकारीक नभएको भन्दै सबै सांसदलाई जानकारी गराएको छ।

प्रदेश १ मा ९३ सिट छ। तत्कालीन एमालेका ५१, माओवादी केन्द्रका १६ गरी ६७, कांग्रेस २१,  जनता समाजवादीका ३, राप्रपा १ र संघीय लोकतान्त्रिक मन्चको १ सिट छ। प्रदेशमा सरकार बनाउन ४७ सिट आवश्यक पर्छ। अहिले सम्म कुनै समूहले एकलौटी सरकार बनाउन सक्ने अवस्था छैन्। दुबै पक्षलाई सरकार बनाउन कांग्रेसको सहयोगको आवश्यकता पर्छ। 

यस्तै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिसकेपछि दाहाल–नेपाल समूहले कांग्रेससँग भेटघाट थालेको छ। 

निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच छलफल भएको हो। 

कोइरालालाई भेट्न आङ्बो कोइराला निवास पुगेका थिए। भेट समसामयिक विषयमा केन्द्रित रहेको आङ्बोले बताए। अहिलेको अवस्था र घटनाक्रममा समान दृष्टिकोण भएका दलहरुबीच छलफल भएर अघि बढ्ने कुरामा नेता कोइरालासँग कुराकानी भएको उनको भनाइ छ। 
 

पुष १४, २०७७ मंगलबार २०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।