
महालक्ष्मी बैंक घोटालाको योजनाकार सुन जाँचकी, ५ किलो सुनलाई १७ किलो बनाइदिए

बैंकमा भएको सात करोड ४२ लाख घोटालाको मुख्य योजनाकार देखिएका ६७ वर्षीय पदमचन्द्र ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।
अनुसन्धानबाट सोमबार पक्राउ परेका ज्ञवाली बैंकको घोटालाका मुख्य योजनाकार देखिएपछि पक्राउ गरिएको ब्युरोका प्रमुख सहकुल थापाले जानकारी दिए।
ब्युरोका अनुसार ज्ञवालीले ऋणीसँग पाँच किलो सुन लिएर प्रमाणित गर्दा १७ किलो देखाएर ऋण प्रवाह गराएका थिए।
नयाँ शाखा प्रमुख आएपछि ०६९ देखि शाखामा सुन जाँचकीको रूपमा काम गर्दै आएका ज्ञवालीको व्यवहारमा शंका लागेर धितो रहेको सुन तौलदा १२ किलो गायब रहेको खुलेको थियो।
नयाँ जाँचकी नियुक्त गरेर १२ किलो सुनको खोजी गर्दा ज्ञवालीले पाँच किलो धितो राखेर १७ किलो लेखिदिएको खुलेपछि बैंकले ब्युरोलाई जानकारी गराएको थियो।
ज्ञवालीसँगको मिलेमतोमा खोटाङको साकेला गाउँपालिका–२ का ४० वर्षीय देवानन्द राई, ३२ वर्षीय पूर्ण राई र धनकुटाको साँगुरीगढी गाउँपालिका–४ का २५ वर्षीय सन्दीप लिम्बूले पाँच किलो सुन राखेर १७ किलोको ऋण लिएको खुलेपछि ब्युरोले पक्राउ गरिसकेको छ।
महालक्ष्मी बैंकका कर्मचारी स्मृति राणा, पिंकु पालिखे र अनिससिंह सिजापती पनि ब्युरोको हिरासतमा छन्। ऋणी २६ मंसिर र कर्मचारी पुस ५ मा पक्राउ परेपछि ज्ञवाली फरार थिए।
पुष १४, २०७७ मंगलबार १३:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।