प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वको टोलीले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको हो।
प्रदेश सभा सचिवालयका अनुसार अविश्वासको प्रस्ताव दर्ता गर्नेमा ३७ सांसदको हस्ताक्षर छ।
नेकपाकै दाहाल–नेपाल पक्षले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ।
यसअघि संसदीय दलको निर्वाचनमा आचार्य राईसँग दुई मतले पराजित भएका थिए। आचार्यलाई मुख्यमन्त्री बनाउने प्रस्तावको प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी छन्।
आफू सहभागी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको थाहा भएपछि राईले आर्थिक मामिला मन्त्री आङ्बोलाई शनिबार साँझ पदमुक्त गरेका थिए।
९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७ जना सदस्य छन्। पार्टी विभाजनपछि ओली समूहमा १९ र दााहाल–नेपाल समूहमा ४८ जना सदस्य छन्। प्रदेशसभामा नेपाली कांग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन्।
यस्तै आज विहान मात्रै सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास थारूले राजिनामा दिएका थिए।
दाहाल–नेपाल समूहले शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
पुष १२, २०७७ आइतबार ११:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।