
१५ हजार बढीले कोरोना बीमाको रकम भुक्तानी पाए

रकम भुक्तानीका लागि ओवेदन दिएका २८ हजार मध्ये १५ हजारलाई बिमांक रकम भुक्तानी गरेको समितिले जनाएको छ।
बीमा समितिका उपनिर्देशक निर्मल अधिकारीले २८ हजार २९४ दाबी मध्ये पुस ९ गतेसम्म १५ हजार ३८१ बिमितलाई १ अर्ब ५० करोड ११ लाख ७५ हजार भुक्तानी गरेको जानकारी दिए।
कारोना लागेको प्रतिवेदन पेश गर्दा बीमा रकम सजिलै पाउछ भन्ने हल्ला भएकाले कतिपयले नक्कली कागजात पेश गरेका कारण छानबिन गर्दा केही ढिलो भएको उनले बताए।
प्रमाणित भएका सबै बिमितले अबको २ हप्ता भित्र भुक्तानी पाउने गरी काम भईरहेको उनले जानकारी दिए।
‘कागजात पुरा भएका बिमितको भुक्तानी दिने काम नियमित रुपमा भईरहेको छ’ उपनिर्देशक अधिकारीले भने ‘कतिपयको कामगजात नपुगेको र कतिको प्रमाणित गर्ने क्रम चलिरहेको छ।
कोरोना संक्रमितहरुले बीमावाफतको रकम भुक्तानी गर्न ढिलो भैरहेको गुनासो गरेपछि अर्थमन्त्री बिष्णु पौडेलले रकम छिटो भुक्तानी दिन दुई पटक निर्देशन दिएका थिए।
मन्त्रीको निर्देशनपछि बीमा समितिले कागजात प्रमाणित भएका सबै बिमितको बिमांक रकम एक हप्ता भित्र भुक्तानी गर्न सबै बीमा कम्पनीलाई पत्र पठाएको थियो।
बीमा कम्पनीले सबै कागजात पुरा भए नभएको एकिन गरी कागजात पुरा भएका फाइलहरु भुक्तानीका लागि बीमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा पठाउनु पर्नेमा केही फाइलहरु कागजात पुरा नगरेको पाईएको छ। जसका कारण पनि भुक्तानीमा ढिलाई भएको समितिको दाबी छ।
पुष १०, २०७७ शुक्रबार १६:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।