राजनीतिक उथलपुथलमा किन बढ्यो सेयर बजार ? 

राजनीतिक उथलपुथलमा किन बढ्यो सेयर बजार ? 

विगतको इतिहासलाई हेर्दा सेयर बजारले एक पटक नयाँ उचाईको बिन्दु कायम गरिसकेपछि बजार घटेको इतिहास छ। १८८१ पुगेको बिन्दु घटेर ११०० सम्मको बिन्दुमा झर्यो । जुन बिन्दुलाई सेयर बजारको टर्निङ प्वाइन्टका रुपमा लिइन्छ।

लामो समयसम्म बजार बढिसकेपछि घट्नु स्वभाविकै हो। भनिन्छ,‘एउटा चक्र पूरा भएपछि सेयर बजारको अर्को चक्र सुरु हुन्छ। जुन शिलशिला बजारमा दोहोरिएको देखिन्छ। 

विगतको इतिहास हेर्दा पाँच वर्ष बजार बढ्दा तीन वर्ष घटेको देखिन्छ। २०६८ सालबाट बढ्न शुरु गरेकोे सेयर बजार ०७३ सम्म निरन्तर बढेको देखिन्छ। त्यसपछि ओरालो लाग्न शुरु गरेको बजार कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण लकडाउन हुनुभन्दा अघि केही सुधार भएको थियो। पुनः कोरोना महामारीले गर्दा बजार घटेर ११०० कै बिन्दुको हाराहारीमा झर्यो।

महामारी तथा विपत्तिको समयमा सेयरको मूल्य घट्ने भएकाले यो समय लगानीकर्ताका लागि लगानीको उपयुक्त समय पनि हो। यस्तो अवस्थामा सस्तो मुल्यमा राम्रा कम्पनिका सेयर खरिद गर्न सकिन्छ। 

असार १५ गते नेप्से परिसुचक ११७८ को बिन्दुमा थियो। असार १५ पछि सेयर बजारले गतिलिन थालेको देखिन्छ। बिस्तारै लकडाउन खुकुलो हुँदै गएपछि भने बजार बढ्न थालेको देखिन्छ। 

कोरोना भाइरस संक्रमणको समयमा पनि सेयर बजार बढ्नुको पनि कारण छ। कोरोना महामारीका कारण अन्य क्षेत्रमा लगानीको वातावरण सहज भएन। जसले गर्दा पनि लगानीकर्ताहरुले सेयर बजारमा लगानी गर्न थाले। जुन कारणले पनि बजार बढेको देखिन्छ।

बजार बढ्दै जानथालेपछि लगानीकर्तामा पनि उत्साह थपिएको देखियो। बैंक तथा वित्तिय संस्थाहरुले सेयरबजारमा लगानीका लागि सेयर धितो कर्जा सहज र सरल गरे। ब्याजदर घट्यो। ऋणको ब्याज पनि घट्यो। जसले गर्दा सेयरमा लगानीका लागि उपयुक्त वातावरण बन्यो।  

बैंक तथा वित्तिय संस्थाले सरल तरिकाले धितोकर्जा दिएकाले पनि सेयर बजार बढेको देखिन्छ। बैंकको ब्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुन्छ।

बैंककको व्याजदर बढ्दा सेयर बजार घट्न सक्छ। ब्याजदर घट्दा सेयर बजार बढ्ने सम्भावना हुन्छ। सेयर बजारको झण्डै ८० प्रतिशत हिस्सा बैंक तथा वित्तिय क्षेत्रले ओगटेको देखिन्छ।

केहीदिनयता राजनीतिक अन्यौलताले बजारलाई प्रभाव पार्छकी भन्ने अनुमान थियो। पुस ५ गते संसद विघटनको विषयले गर्दा पाँच प्रतिशत हाराहारीले बजार घटेको देखिन्छ।

बजार प्रभावित भएको देखिन्छ। तर, त्यसपछि सेयर बजारमा राजनीतिले खासै प्रभाव पारेको देखिँदैन। सेयर बजारले अहिले फेरी पिक–अप लिएको देखिन्छ। आजकै (बुधबारको) कुरा गर्ने हो भने पनि नेप्से परिसुचक २०६८ को बिन्दुमा छ। 

विगतको इतिहासलाई हेर्दा नेपालको राजनीतिले सेयर बजारमा खासै प्रभाव पारेको देखिँदैन। त्यतिमात्रै हैन। अहिले सेयरको अनलाइनमार्फत कारोबार गर्नका लागि सहज अवस्था छ। लगानीकर्ताले स्वयं आफूले कारोबार गर्न सकिन्छ।

ब्रोकर कम्पनीकहाँ कारोबारका लागि धाएर जानुपर्दैन। यस्तो सहजताले पनि बजार सकारात्मक भएको देखिन्छ। 
बजेटले पनि सेयर बजारलाई प्रभाव पार्छ नै। यो वर्षको बजेटले पनि सेयर बजार सकारात्क ढंगले अघि बढेको देखिन्छ। पछिल्लो समय पूँजी बजारको बिस्तारका लागि केही नीतिगत सुधार पनि भएका छन्। 

२०७६-०७७ को बजेटले पनि पूँजी बजारमा केही सकारात्मक प्रभाव परेको छ। ०७६-७७ को मौद्रिक नीतिले पनि सेयर बजार सकारात्मक ढंगले अघि बढ्न भूमिका खेलेकोे देखिन्छ। 

(सेयर प्रशिक्षक भट्टराईसँग उकेराकर्मी उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित)

पुष ८, २०७७ बुधबार १९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।