बौद्ध विश्वविद्यालयले देवदहमा कृषि र वन विषय पढाउँदै

चालु शैक्षिक सत्रबाटै ‘स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्स’ अन्तर्गतका तीन विषय पढाउन लागेको हो।
स्नातकोत्तर तहमा डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्स अन्तर्गत ‘एग्रो फोरेस्ट्री, डेभलपमेन्ट स्टडिज र इन्भाइरमेन्ट स्टडिज’मा पठनपाठन गराउन थालिएको विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्यले बताए। यी विषय प्रयोगात्मक पद्धतिबाट पठनपाठन हुने छन्।
यस्तै, विश्वविद्यालयले देवदह नगरपालिकाको वडा नम्बर ८ मा करिव सय बिघा जमिन प्राप्ति गर्ने तयारी छ। सोही जग्गामा देवदह उपवन निर्माण गरि स्नातकोत्तर तहका कक्षा सञ्चालन गर्ने योजना बनाएको आचार्यले जानकारी दिए।
बुद्धको मावली स्थानमा पहिलो पटक कक्षा सञ्चालनको तयारी गरिएको हो, जसका लागि विश्वविद्यालयले भर्नासमेत खुला गरेको छ। सन् २०२१ को फ्रेबुअरीबाट कक्षा सञ्चालनमा आउने डिन उकेशराज भोजुले जानकारी दिए। ‘हामीले भर्ना खुलाइसकेका छौं, दुई महिनापछि पठनपाठन सुरु हुन्छ,’ उनले भने, ‘स्वदेश र विदेशका विज्ञले भौतिक र भर्चुअल माध्यमबाट पढाउने छन्।’
एग्रोफोरेस्ट्री विषयका माग नेपालमा अत्याधिक छ। कृषि तथा वन विश्वविद्यालयमामा मात्रै यी विषय पढाइ हुन्छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयले सैद्धान्तिकभन्दा प्रयोगात्मक कक्षा सहितको विषय पढाउन लागेको हो। तीन वटै विषयमा २०/२० जना विद्यार्थीले पढ्न पाउने छन्।
स्नातकोत्तर तहमा जुनसुकै विषयमा ५० प्रतिशत अंक ल्याएको हुुनु पर्ने डिन भोजुले बताए। यी तीन वटै विषय अंग्रेजी माध्यममा हुने छन्।
पाठ्यक्रम सञ्चालनको उद्देश्य दिगो जीवनयापन, नैतिक, आर्थिक उन्नति गर्ने जनशक्ति उत्पादन गर्नु हो। यी विषयमा अध्ययन गर्नेले पहिलो सेमेस्टरको तीन साता बौद्ध गुम्बाको अध्ययन–अनुसन्धान गर्ने छन्। दोस्रो सेमेस्टरमा सम्बन्धित विषयमा रहेर सरकारी तथा गैरसरकारी क्षेत्रले गरेको कार्यक्रममा इन्टर्नसिप गर्नु पर्ने छ। त्यस्तै, तेस्रो सेमेस्टरमा दुई साता समाज कल्याणको काममा खटिनु पर्ने गरि पाठ्यक्रम डिजाइन गरिएको छ।
विश्वविद्यालयबाट तीन वर्षमा उत्पादित जनशक्तिमार्फत एक हजार आठ सय रोजगारी सिर्जना हुने, लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ वटा कृषि तथा वन म्युजियम बन्ने अपेक्षा गरिएको छ।
यी विषय अध्ययन गर्ने जनशक्ति व्यावसायिक क्षमताको, समस्या समाधान गर्न सक्ने र इन्नोभेटिभ हुने डिन भोजुले बताए। बौद्धकालीन शिक्षा, वनस्पति, आयुर्वेद तथा आधुनिक वन पैदावारलाई सदुपयोगका योजना र त्यसबाट आर्थिक लाभ लिने विषयमा विद्यार्थीहरूले अध्ययन गर्ने उनको भनाइ छ।
विश्वविद्यालयले मंगलबार तीन विषयको पाठ्यक्रम विषयमा सामाजिक विकास मन्त्रालयमा छलफल गरेको छ।
सो अवसरमा बोल्दै सामाजिक विकासमन्त्री सुदर्शन बरालले बौद्ध विश्वविद्यालयले महत्त्वपूर्ण कक्षा सञ्चालन गर्न लागेको भन्दै सरकारले सहयोग गर्ने बताए। उच्च शिक्षा आर्जनका लागि प्रदेशबाहिर जानु नपर्ने अवस्था सिर्जना गर्न सरकार लागिरहेको भन्दै विश्वविद्यालयका यी कार्यक्रमले थप टेवा पुग्ने उनको भनाइ छ।
दाङको तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेले एग्रो फोरेस्टी विषय दाङमा सञ्चालन गर्न स्थानीय सरकारबाट सहयोग हुने बताए। सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न बज्राचार्यले बौद्ध दर्शनलाई जोडेर जीवनोपयोगी शिक्षा प्रदान गर्ने विश्वविद्यालयको योजना रहेको बताए।
सो अवसरमा संविधानसभा सदस्य नेत्र पन्थी, सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका दीपक ज्ञवाली, बदबहादुर आचार्य लगायतले बोल्दै विश्वविद्यालयका जनशक्ति स्वदेशमै खपत हुने गरि उत्पादन गर्नु पर्नेमा जोड दिए।
पुष ८, २०७७ बुधबार १८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।