नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : शिलान्यासको १४ महिनापछि सुरुङ खन्न सुरु 

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : शिलान्यासको १४ महिनापछि सुरुङ खन्न सुरु 

काठमाडौं : नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको मुख्य सुरुङमार्ग खन्न मंगलबार सुरु गरिएको छ। आयोजना शिलान्यास भएको १४ महिनापछि बल्ल मुख्य सुरुङमार्ग खन्न सुरु गरिएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कात्तिकमा उक्त आयेजनाको शिलान्यास गरेका थिए। 

एनएटिएम प्रविधिबाट निर्माण गरिन लागिएको उक्त सुरुङमार्गमा ड्रिलिङ र ब्लास्टिङ गरिने जनाइएको छ।

टिबिएमको प्रविधिको तुलनामा एनएटिएम प्रविधिबाट निर्माणमा ढिला हुने भए पनि तोकिएको समयमा उक्त सुरुङमार्ग निर्माण हुने आयोजनाका प्रमुख श्याम खरेलले बताए। 

जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा हाज्मा–आन्दो कर्पाेरेसन कम्पनीले निर्माणको ठेक्का पाएको हो।

जापान सरकारको १६ अर्ब रूपैयाँ सहुलियत ऋण र ६ अर्ब रूपैयाँ आन्तरिक स्रोतबाट गरि कुल २२ अर्ब रूपैयाँ लागतमा उक्त सुरुङमार्ग निर्माण थालिएको हो। 

यसअघि सुरुङ हुने क्षेत्रभन्दा बाहिर काम भइरहेको र मंगलबारबाट मुख्य सुरुङमार्गको काम थालिएको उनले बताए।

साइट क्लियर र मुआब्जाको विषय टुंगो लगाउन नसक्दा आयोजना निर्माणमा ढिला भएको उनले बताए। कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीले गर्दा पनि काममा ढिलाइ भएको खरेलको भनाइ छ। 

भौतिक प्रगति ५ प्रतिशत 

सुरुङमार्ग निर्माणमा अपेक्षाकृत भौतिक प्रगति हुन सकेको छैन। सुरुङमार्गको हाल भौतिक प्रगति ५ प्रतिशत मात्र भएकोे आयोजनाका इन्जिनियर अन्नत जोशीले जानकारी दिए। 

आयोजना ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नु पर्ने सम्झौता छ।

कोरोना महामारीसँगै दक्ष जनशक्तिको अभावले आयोजना निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ। 

अहिले सुरुङमार्ग क्षेत्रमा नेपाली र जापानिज कामदार गरि दैनिक करिब तीन सय जना फिल्डमा खटिएको इन्जिनिएर जोशीले बताए। सुरुङमार्ग निर्माणपछि घन्टौं सवारीजाममा बस्नु पर्ने बाध्यता हट्ने उनको भनाइ छ।  

२.६८ किलोमिटर लम्बाई रहेको उक्त सुरुङमार्ग निर्माण सम्पन्न भएपछि १० मिनेटमा वारपार गर्न सकिने छ। 

सुरुङमार्ग निर्माण धमाधम भइरहेकाले तोकिएकै समयमा निर्माण सकिने जोशीले दाबी गरे। 

‘अब कुनै पनि समस्या नआएमा तोकिएको समयमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने, ‘पहिला एक महिनामा राम्रो काम हुन सकेन। त्यसपछि लकडाउनमा पनि हामीले केही कामदार राखेर काम गरिरहेका थियौं। लकडाउन खुकुलो भएपछि विदेशबाट दक्ष जनशक्ति ल्याएर सुरुङ खन्न सुरु गरिएको छ।’ 
 

पुष ७, २०७७ मंगलबार २१:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।