पाँच क्षेत्रमा बढ्यो वैदेशिक सहायता

पाँच क्षेत्रमा बढ्यो वैदेशिक सहायता

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो चौमासिकमा सडक पूर्वाधार, सुशासन, स्वास्थ्य, शिक्षा र वन पर्यावरण गरि पाँच क्षेत्रमा नेपालले पाउने वैदेशिक सहायता बढेको छ। 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकमा वैदेशिक सहायता प्रतिबद्धता बढेको हो। 

अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ९० अर्ब ५४ करोड ६५ लाख रूपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ। 

गत आर्थिक वर्षको पहिलो चार महिनामा १५ अर्ब ६७ करोड ५० लाख रूपैयाँ वैदेशिक सहायता प्रतिवद्धता भएको थियो। यसमध्ये अनुदान सहायता १२ अर्ब ८३ करोड ५ लाख रूपैयाँ र ऋण सहायता ७७ अर्ब ७१ करोड ६० लाख रूपैयाँ छ। 

सहसचिव दंगालले समीक्षा अवधिमा वैदेशिक सहायता प्रतिवद्धतामध्ये अनुदान र ऋणको अंक क्रमशः १४.२ प्रतिशत र ८५.८ प्रतिशत रहेको बताए। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अंशमा ऋण ७८.८ प्रतिशत र अनुदान २१.२ प्रतिशत रहेको थियो। 

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा  सडक तथा सुशासन क्षेत्र (रणनीतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजना)अन्तर्गत सबैभन्दा बढी ५४ अर्ब रूपैयाँ बराबरको ऋण सहायता प्रतिवद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ। 

त्यसैगरी, ऊर्जा क्षेत्र विकासअन्तर्गत विद्युत प्रशारण र वितरण प्रणाली सुदृढीकरण परियोजनाको लागि ऋण तथा अनुदान गरी २७ अर्ब ७८ करोड रूपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता प्राप्त भएको सहसचिव दंगालले जानकारी दिए। 

स्वास्थ्य तथा कोभिड १९ सहायताको लागि अनुदानतर्फ ४ अर्ब ७३ करोड सहयोग प्राप्त भएको छ। यसरी नै वन तथा वातावरण क्षेत्रको लागि अनुदानतर्फ १ अर्ब ७५ करोड रूपैयाँ आर्थिक सहयोग मागिएको छ। 

यसरी सामाजिक क्षेत्र को शिक्षा क्षेत्र सुधार (विद्यालय क्षेत्र विकास कार्यक्रम)को लागि अनुदानतर्फ १ अर्ब ६१ करोड बराबरको वैदेशिक अनुदान सहायता प्रतिवद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ। 

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक सहायता प्रतिवद्धताको अवस्था

–  सडक ५९ प्रतिशत
–    ऊर्जा ३१ प्रतिशत 
–    स्वास्थ्य तथा कोभिड सहायता ५ प्रतिशत 
–    शिक्षा २ प्रतिशत 
–    वन तथा वातावरण २ प्रतिशत 

स्रोत : अर्थ मन्त्रालय 

पुष २, २०७७ बिहीबार १४:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।