
महालक्ष्मी बैंकको सात करोड बढी कर्जा प्रकरणमा सीआइबीले थाल्यो अनुसन्धान

काठमाडौं : महालक्ष्मी विकास बैंक कुमारीपाटी, ललितपुर शाखाबाट प्रवाह भएको अस्वभाविक कर्जाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान थालेको छ। थोरै सुन धितोमा राखेर सात करोडभन्दा बढी कर्जा प्रवाह भएको खुलेपछि सीआइबीले अनुसन्धान थालेको हो।
अनुसन्धानकै क्रममा तीन जना ऋणीलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए। ठगी भएको भन्दै केही मानिसविरुद्ध जाहेरी परेको उनले बताए। तीन जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरू गरिएकोले सबै कुरा बिस्तृत अनुसन्धान पछि मात्र खुल्ने पाण्डेले बताए।
नेपाल राष्ट्र बैंकले उक्त बैंकमा अनियमितता भएको ठहर गर्दै अनुसन्धानका लागि सीआईबीलाई पत्र लेखेको थियो। ‘राष्ट्र बैंक ऐन अन्तर्गत उसले नलेखेसम्म हाम्रो कार्यक्षेत्र अन्तर्गत पर्दैन,’ पाण्डेले भने,‘पत्र आइसकेपछि हामीले अनुसन्धान अघि बढाएका हौं।’
ऋणी, विचौलिया, सुन जाँच गर्ने व्यक्तिलगायतका विरुद्धमा जाहेरी परेको बताइएको छ। बैंकका कर्मचारीकै मिलेमतोमा ठूलो अनियमितता भएको हुन सक्ने भन्दै अनुसन्धानका क्रममा कर्मचारीसमेत तानिन सक्ने सीआईबी स्रोतले जनाएको छ।
पुष २, २०७७ बिहीबार १४:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।