राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या न्यून

धनगढी : कैलाली जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रियामा नागरिकको न्यून सहभागिता देखिएको छ।
गृह मन्त्रालयद्वारा राष्ट्रिय परिचय पत्रका लागि वैयक्तिक तथा जैविक विवरण दर्ता कार्यक्रम शुरु भएको चार महिना भइसक्दा पनि सहभागिता बृद्धि हुननसकेको हो। गृह मन्त्रालयले कैलालीमा गत भदौ महिनादेखि जिल्ला प्रशासन कार्यालयभित्रै वैयक्तिक तथा जैविक विवरण दर्ता कार्य शुरु गरेको थियो।
राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रदान गर्ने उद्देश्यले संकलन गरिएको राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्म व्यक्तिगत विवरण दर्ताको संख्या न्यून रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सबै नेपाली नागरिकहरूको वैयक्तिक तथा जैविक विवरणलाई केन्द्रीकृत रुपमा भण्डारणसहित सबै परिचय खुल्ने र नदोहोरिने गरी बहुपयोगी राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गर्ने संघीय सरकारको उद्देश्यअनुरुप विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले दैनिक करिब ५० को हाराहारीमा मात्रै वैयक्तिक तथा जैविक विवरण दर्ता भइरहेको बताए। उनले हालसम्म वैयक्तिक तथा जैविक विवरण दर्ता गराउनेको संख्या २ हजार ७ सय ३२ मात्र पुगेको जानकारी दिए।
उनले भने,‘हामीले दैनिक १ सय ५० जनाको वैयक्तिक विवरण दर्ता गराउने लक्ष्य लिएका थियौं। अहिले संकलन भइरहेको तथ्यांक आधारमा यो एकदमै न्यून संख्या हो।’
उनका अनुसार दर्ता शुरु गरेको पहिलो दिन भदौं १ गते सात जना मात्र वैयक्तिक विवरण दर्ता गराउन सहभागी भएका थिए। भदौ महिनाभरी ३२ जनाले मात्र राष्ट्रिय परिचयपत्र बनाएका थिए।
त्यस्तै, असोजमा ७ सय ७, कार्तिकमा ५ सय ५५, मंसिर १ हजार १ सय ८७ र पुस १ गते ६७ जनाले राष्ट्रिय परिचय पत्र बनाएका छन्।
राष्ट्रिय परिचयपत्रबारे प्रचारप्रसारको कमीले गर्दा विवरण दर्ता गराउन ध्यान नपुगेको र यसले गर्दा हरेक वर्गका मानिस यसबारे अनविज्ञ रहेको उनको भनाई छ।
‘नयाँ नागरिकताको प्रमाणपत्र लिने व्यक्तिले मात्रै राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ भन्ने समाचार बाहिर पुगेको छ, तर यसबारे प्रचारप्रसारको अभाव छ’ जोशीले भने,‘ग्रामीणवस्ती लगायत सबै क्षेत्रका सर्वसाधारणलाई उपयोगी हुने कार्डका बारेमा जानकारी गराउन विभिन्न माध्यमको प्रयोग गर्न आवश्यक छ।’
उनले नम्बर सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने र कार्ड आएपछि दर्ता गरिएकै स्थानबाट लिन सक्ने व्यवस्था गरिएको बताए।
प्रशासन कार्यालय परिसरभित्रै रहेको दुई वटा काउन्टरबाट अहिले राष्ट्रिय परिचयपत्र दर्ता गरिन्छ।
पुष १, २०७७ बुधबार १७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।