पर्यटन प्रवर्द्धन गर्न जनकपुरधाम र पोखराका व्यवसायी सक्रिय

पर्यटन प्रवर्द्धन गर्न जनकपुरधाम र पोखराका व्यवसायी सक्रिय

जनकपुरधाम : कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण धरासायी भएको पर्यटन व्यवसाय प्रवर्द्धनका लागि जनकपुरधाम र पोखराका पर्यटन व्यावसायीहरूले छलफल थालेका छन्। 
 

आन्तरिक पर्यटन पुनःउत्थान तथा प्रवर्द्धनक अभियानअन्तर्गत पोखराका पर्यटन व्यावसायीहरूले जनकपुरधाममा छलफल गरेका हुन्। 

छलफलमा व्यावसायीहरूले जनकपुरधाम र पोखरा जोड्ने विषय उठाएका थिए। सो क्रममा सहभागीले हवाई र स्थल मार्ग प्रयोग गरि कनेक्टिभिटी बढाउन सुझाव दिएका थिए। 

जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक तीन वटा निजी विमान कम्पनीले सेवा दिँदै आएका छन्। 

बुद्ध एयरले दैनिक तीन, यती एयरले दैनिक दुई र श्री एयरलाइन्सले दैनिक एक पटक जनकपुरधाम–काठमाडौं उडान गर्दै आइरहेको छ। 

जनकपुरधामका होटेल व्यावसायी विजय झुनझुनवालाले हप्तामा दुई दिन काठमाडौं पोखरा र जनकपुर वा काठमाडौं–जनकपुर पोखरा विमान चलाउन सुझाव दिएका छन्। 

फायक्टका मनिष झाले जानकी मन्दिर दर्शन गर्न आउने पर्यटक पोखराको रमणीय दृश्य पनि हेर्न चाहन्छन्। 

यस्तै, पोखरा आएकाहरू जनकपुरधामको जानकी मन्दिरमा पूजाअर्चना गर्न चाहने गरेको बताए। 

पश्चिमाञ्चल होटल संघ, पोखराका अध्यक्ष विकल तुलाचनले पर्यटनका लागि आवश्यक पर्ने यातायातको सहज पहुँच, खाने–बस्ने उपयुक्त व्यवस्था, पर्यटकीय आकर्षण सुविधाहरू सबै पोखरामा उपलब्ध रहेको जानकारी दिए। 

छलफलका क्रममा पोखराका व्यावसायीले ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरेको बताएका थिए। अभियानले नेपालमा आन्तरिक पर्यटनको माहोल सृजना गर्न सफल भएको समेत उनले बताए।

पोखराको होटेलहरूमा जम्मा ३० हजार शय्या छ। जानकारहरूका अनुसार पोखराको पर्यटनमा ३ खर्बको लगानी छ।

प्रदेश २ का उद्योग, वाणिज्य, वन तथा पर्यटन सचिव डा. रामचन्द्र कँडेलले कोरोनाबाट सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएकाले पर्यटनका केन्द्रहरू मिले अघि बढ्नु पर्ने आवश्यकता रहेको बताए।

जनकपुरधाम र पोखरा दुवैको सम्बन्धको चर्चा गर्दै एक–दोस्रो सहरलाई कनेक्टिभिटी बढाउने तर्फ लागू पर्ने आवश्यकतामाथि जोड दिए।
 

पुष १, २०७७ बुधबार १७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।