गोकुल बास्कोटाले नारायणकाजीलाई भने–मबाट पाठ सिक्नुस्

गोकुल बास्कोटाले नारायणकाजीलाई भने–मबाट पाठ सिक्नुस्

विराटनगर : पूर्वमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शार्मा ओलीको नेतृत्वमा नेपालमा पुनर्जागरण अभियान चलिरहेको बताएका छन्। 
 

आइतबार विराटनगरमा प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बास्कोटाले ओलीको नेतृत्वमा नेपालमा पुनर्जागरण अभियान चलिरहेको बताएका हुन्। 

सकारात्मक कामको प्रचार नगर्ने र नकारात्मक कामको मात्रै प्रचार गर्ने प्रबृतीले सरकारले गरेका राम्रा काम नदेखिएको उनको भनाई छ। 

हठातमा प्रधानमन्त्रीको राजीनामा माग्नेहरूले लोकतन्त्रकै खिल्ली उडाइरहेको उनले बताए। जनताले स्थिर सरकारको पक्षमा बहुमत दिएको भन्दै उनले प्रधानमन्त्रीको राजीनामा माग्दा जनमतको अपमान भइरहेको बताए। 

बाँस्कोटाले चुनावमै नेतृत्व स्पष्ट पारेर जनताबाट अनुमोदनसमेत भइसकेकाले यहि सरकारले ५ वर्ष साशन गर्ने दाबी गरे। केपी ओली नेकपाको अधिवेशनबाट निर्वाचित अध्यक्ष भएकाले स्थायी समितिको बैठकले हटाउन नसक्ने उनले स्पष्ट पारे। 

‘अधिवेशनबाट अनुमोदन भएर आएको अध्यक्ष हटाउन अधिवेशननै पर्खनुपर्छ’ उनले भने,‘विधि विधान विपरित दुई चार जनालाई रिस उठ्दैमा अध्यक्षबाट  हटाउन कसैले सक्दैन।’ 

बाँस्कोटाले अल्पमत र बहुमतको कुरा गरे दुर्घटना निम्तिन सक्ने भएकाले दुर्घटना रोज्नेलाई रामराम मात्रै भन्न सकिने बताए।

पूर्वसांसद कमानसिंह लामाको लेनदेन प्रकरणमा मुछिएका पार्टीका प्रबक्ता नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै बास्कोटाले आफूबाट पाठ सिक्न आग्रह गरे। आदर्श नेताले म बाट सिक्ने कि? कम्तिमा मैलेजति गरेको भए हुन्थ्यो।

ओली निकट युवाहरूको भेला उद्घाटनका क्रममा बास्कोटा विराटनगर आएका हुन्। उनले शनिबार विराटचोकमा गुटगत युवा भेलाको उद्घाटन गरेका थिए। 
 

मंसिर २८, २०७७ आइतबार १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।