जनकपुरमा अन्तराष्ट्रिय विमानस्थल बनाउने प्रतिवद्धत

जनकपुरमा अन्तराष्ट्रिय विमानस्थल बनाउने प्रतिवद्धत

जनकपुरधाम : संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले जनकपुरधाम विमान स्थललाई अन्तराष्ट्रिय विमान स्थल बनाउने प्रतिवद्धता जनाएका छन्।
 

मंगलबार विमानस्थलको नवनिर्मित टर्मिनल भवनको उद्घाटन गर्दै मन्त्री भट्टराइले अन्तराष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता जनाएका हुन्। 

‘अन्तराष्ट्रिय विमानस्थल बनाएर पर्यटकीय कोरिडोर बनाउनु पर्छ’ उनले भने,‘सरकार यसको लागि तयार छ।’ 

उनले जनकपुर विमानस्थल अन्राष्ट्रिय बनाउन सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गरे।

संघीय सरकार र प्रदेश २ सरकारबीच घनिष्ठ सम्बन्ध रहेको भन्दै उनले संघीयताको नयाँ अभ्यासमा रहेका कारण केही कमजोरी देखिएको उनले औल्याए।

‘संघीयता आएको तीन वर्ष मात्रै भएको छ। यो अवधिमा सबै समस्याको हल हुन सक्दैन,’ उनले भने,‘सिक्ने क्रममा केही गल्ती हुन्छ। यो गल्तीलाई आपसी समझदारीबाट हल गर्दैजानुपर्छ।’ 

संघीय लोकतान्त्रिक गणतन्त्र आइससकेको भन्दै पुनः पुराना कतिपय घटनाहरु हाम्रो मानसपटलमा आइरहने उनले बताए।

कार्यक्रममा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले लामो समयसम्म खुल्ला सीमा बन्द गरिएकोप्रति आक्रोश व्यक्तगर्दै चाँडो सीमा खोल्न आग्रह गरे। 

‘भातीय सीमा खोलाउन प्रदर्शन भइरहेको छ,’उनले भने, ‘नखोलिए यसले ठूलो रुप लिन सक्छ।’

संघीयताको मर्म संघ र प्रदेशबीच विवाद गर्नु नभएको उनले बताए। संघीय सरकारकै व्यवहारका कारण प्रदेश २ सरकार सर्वाेच्चमा मुद्दा हाल्न बाध्य भइरहेको उनको भनाइ थियो।

जनकपुरधाम विमानस्थलका प्रमुख किरण गौतमले नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि धावनमार्ग बिस्तार गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार अहिले रहेको १३ सय मिटरको धावनमार्गलाई १५ सय मिटर पु¥याइने छ। 

आधुनिक टर्मिनल भवनमा १ सय ५० मोटरसाइकल, ८० वटा कार तथा जिप पार्क गर्न सक्ने क्षमताको पार्किङ स्थल बनाइएको हो। त्यस्तै टर्मिनल भवनमा अलग्गै स्तनपान कक्ष र धुम्रपान कक्ष समेत बनाइएको छ।

उनको अनुसार ०६९ सालेदखि निर्माणाधिन भवन ४५ करोडको लागतमा निर्माण सम्पन्न भएको हो। 

०६९ असोज १५ गते पप्पु एन्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्यन प्राधिकरणबीच डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, पप्पुले अनेक बहाना गर्दै समयमा काम सकाएनन्। सरकारले ०७४ मा पप्पुसंग गरेको सम्झौता रद्द गरेर पुन टेण्डर अह्वान गरिएको थियो। 


 

मंसिर २३, २०७७ मंगलबार १७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।