भौतिक पूर्वाधार मन्त्रालयमा कर्मचारी भर्ना गर्ने मन्त्रिपरिषद्को निर्णय

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयमा आवश्यक कर्मचारीहरू करारमा भर्ना गर्ने भएको छ।
पुँजीगत खर्च बढाउन र विकास निर्माणका कामहरू अघि बढाउन प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने निर्णय गरेको हो।
मंगलबार सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मन्त्रालयमा आवश्यक ४३ जना कर्मचारीलाई करारमा भर्ना गर्ने निर्णय गरेको हो।
मन्त्रालयमा दरबन्दी रहेका तर, उपस्थित नभएका कर्मचारीहरूलाई प्रदेश सरकारले आफै भर्ना गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले प्रादेशिक आयुर्वेदिक चिकित्सालय धनगढीमा पनि ३२ जना कर्मचारी भर्ना गर्ने निर्णय गरेको उनले बताए।
वैद्यनाथ धाम विकास समितिका गठन आदेश संशोधन गर्ने, कोभिड १९ रोगको नियन्त्रण रोकथाम र उपचारको लागि आवश्यक रकमको व्यवस्थापन गर्ने निर्णय गरेको छ।
खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशका मार्गमा पर्ने डोटीमा झिग्राना देखी बिचपानी सम्मको १५ किलोमिटरमा प्रदेश सरकारले जंगलसफारी तथा बनपथ निर्माण गर्ने भएको छ।
विस्तृत परियोजना प्रतिवेदन डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन तयार गर्न प्रदेश सरकारले १५ लाख दिने निर्णय गरेको प्रदेश अर्थमन्त्री बोहराले जानकारी दिए।
मंसिर २३, २०७७ मंगलबार १७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।