जसरी बढेको थियो त्यसरी नै घट्यो सेयर बजार

काठमाडौं : लगातार तिव्रगतीले उकालो लागेको सेयर बजार यो साताको पहिलो दिनमै सर्किट लागेर खस्किएको छ।
आइतबार बजार खुलेदेखि नै नेप्से ओरालो लाग्न सुरु गरेको थियो। सुरुमा बजार घट्ने गति केही सुस्त थियो। दिउँसो एक बजेपछि भने बजार घट्ने गति तीव्र बन्दा नेप्से ६ प्रतिशतले घटेर सबा २ बजेतिर बजार नै बन्द हुने अवस्था आयो।
नेपाल स्टक एक्सचेन्जले नेप्सेमा एकै दिन ६ प्रतिशत गिरावट आयो भने त्यस दिनको बाँकी समयको कारोबार स्थगन गरी बजार नै बन्द गर्ने व्यवस्था गरेको छ।
सेयर बजार गत मध्य साउनदेखि लगातार उकालो लागेको थियो। बीचमा खासै करेक्सन नभई बढेको बजार गत बिहीबार हालसम्मकै सर्वाधिक विन्दु २११८ मा पुगेको थियो। चार महिनाको अवधिमा नेप्सेमा ५५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको थियो।
कोरोना संक्रमणका कारण अर्थतन्त्रका सबैजसो क्षेत्र प्रभावित भइरहेका बेला सेयर बजारमा मात्रै तीव्र वृद्धि देखिँदा यस्तो वृद्धि अस्वाभाविक भएको टीकाटिप्पणीसमेत हुन थालेका थिए।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको लाभांश क्षमतामा गिरावट आइरहेका बेला सेयर बजारको चर्को वृद्धि अस्वाभाविक भएको भन्ने तर्कलाई बल पुगिरहेको थियो।
सेयरको बजार वृद्धिलाई अस्वाभाविक ठान्दै केही दिनअघि धितोपत्र बोर्डले विज्ञप्ति नै सार्वजनिक गरी सर्वसाधारणलाई सचेत भई लगानी गर्न ध्यानाकर्षण गरेको थियो।
सेयर संख्या सीमित भएका कम्पनीको सेयर मूल्य टाठाबाठा लगानीकर्ताले चलखेल गरी उचालेर दुई तीन गुणा माथि पुर्याएपछि साना र सोझा लगानीकर्ता फस्न सक्ने सम्भावना देखेर धितोपत्र बोर्डले विज्ञप्ति जारी गरेको थियो। तर, बजारमा बोर्डको विज्ञप्तिको पनि व्यापक आलोचना गरियो ।
अर्कोतर्फ लगानीका क्षेत्र खुम्चिँदा बैंकले सेयर बजारमा लगानीका लागि मात्रै कर्जा प्रवाह गरिरहेकोमा नेपाल राष्ट्रबैंकले चनाखो भएर हेरिरहेको थियो।
यस्तै अवस्था रहिरहे आगामी दिनमा आर्थिक असन्तुलनको अवस्था उत्पन्न हुन सक्ने खतरा देखेर राष्ट्रबैंक सेयर बजारमा प्रवाह भएको ऋणमा अंकुश लगाउने नीतिगत तयारीमा थियो ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनाको समीक्षामा राष्ट्रबैंकले यसबारे खुलासा गर्दै मार्जिन ल्यान्डिङको सीमा घटाउने तयारी भइरहेको जानकारी दियो।
हाल बैंकहरुले सेयर धितोमा सेयरको एक सय ८० दिने औसत मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका छन्।
चालू आर्थिक वर्षको मौद्रिक नीति आउनुअघि यस्तो प्रतिशत ६५ थियो। कोरोनाले सेयर बजारमा पनि पुर्याउन सक्ने सम्भावित असरलाई ध्यान दिएर राष्ट्रबैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मार्जिन ल्यान्डिङको सीमा ६५ बाट बढाएर ७० पुर्याएको थियो। तर, सेयर बजारमा कोरोनाको उल्टो प्रभाव देखिएपछि राष्ट्रबैंक नीतिगत व्यवस्थामा संशोधन गर्ने तयारीमा लागेको हो।
यो सीमा कति प्रतिशतमा झार्ने भने नखुलाइसकेको भए पनि राष्ट्रबैंकले केही दिनमै बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गरेर यसबारे जानकारी दिने जनाएको छ।
राष्ट्रबैंकको यो तयारीबारे सूचना सार्वजनिक हुनेबित्तिकै बजार घट्ने अनुमान गर्दै लगानीकर्ताले बजारमा सेयर आपूर्ति बढाएका थिए। यो क्रम गत बिहीबार नै सुरु भएको थियो। आइतबार आपूर्तिको मात्रा झनै बढ्दा नेप्से १२३.३४ विन्दुले ओरालो लागी १९३२.११ विन्दुमा आएको छ।
सबैभन्दा बढी ओरालो लाग्नेमा अन्य समूह देखिएको छ। यसअघि बजार बढ्दा सबैभन्दा बढी उकालो लाग्नेमा पनि यही समूहको सूचक थियो।
यस समूहमा सूचीकृत नेपाल टेलिकम, जलविद्युत् विकास कम्पनीलगायतको सेयर मूल्य केही दिनमै सय प्रतिशतभन्दा पनि बढीले वृद्धि भएको थियो।
यसैगरी अकासिएको व्यापार समूहको सूचक पनि आइतबार ७.४२ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह, लघुवित्त र उत्पादनमूलक समूहमा पनि पहिरो गएको छ। जीवन बीमा समूह ८.२६ विन्दुले ओरालो लाग्दा लघुवित्त र उत्पादनमूलक समूह क्रमशः ७.०३ र ७.६ विन्दुले खस्किएका छन्।
यसअघि तुलनात्मक रुपमा कम बढेका बैंक तथा वित्त समूहका कम्पनीको सेयर मूल्य अन्य समूहका कम्पनीको तुलनामा कम घटेको छ।
बैंक समूहको सूचकमा ४.३३, विकास बैंक समूहको सूचकमा ३.४४ र वित्त समूहको सूचकमा २.१८ प्रतिशतले मात्रै गिरावट आएको छ ।
त्यस्तै होटल समूह ४, जलविद्युत् समूह ५ र निर्जीवन बीमा समूह ५.७ प्रतिशतले ओरालो लागेका छन्। म्युचुअल फन्ड समूह पनि १.७८ प्रतिशतले रातो छ।
मंसिर २१, २०७७ आइतबार १५:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।