जनप्रतिनिधि र कर्मचारी बेपत्ता !

जनप्रतिनिधि र कर्मचारी बेपत्ता !

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाका केही जनप्रतिनिधि र कर्मचारी सम्पर्क विहीन छन्। 

गाउँपालिका अध्यक्ष नवलसिंह रावल,उपाध्यक्ष पुजा देवी बुढामगर देखि गाउँपालिकाको आधिकारिक अनलाइन पोर्टलमा निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनन्द जैसी लगायतका जनप्रतिनिधि र कर्मचारी सम्पर्क विहीन छन्।

एक साता उनीहरूको सम्पर्क नम्बरमा फोन गर्दा पनि मोबाइल ‘अफ’ छ। एकसाता देखि लगातार फोन सम्पर्क गर्दा पनि जनप्रतिनिधि र मोहन्यालमै रहेका कर्मचारीहरू सम्पर्कमा आउन सकेका छैनन्। 

त्यहीँ कार्यरत एक कर्मचारीले भने,‘म काम विशेषले धनगढी आएको छु। मोहन्यालमा हामीले चाह्यो भने फोन लाग्छ। तर, आउने फोन भने आउदँैन, हामी डाँडा तिर गयो भने मात्रै फोन लाग्छ। नेटवर्कको समस्याका कारण हामी सम्पर्क विहीन हुन्छौ।’

नेटवर्कको समस्याका कारण मोहन्यालका जनप्रतिनिधि र कर्मचारीहरूलाई फोन सम्पर्क नहुने गरेको जिल्ला समन्वय समिति प्रमुख सूर्य बहादुर थापाले बताए। उनले भने,‘अहिले त गाउँपालिका अध्यक्षलगायत केही कर्मचारीहरूमा कोरोना देखिएको छ, त्यसैले उहाँहरू आराममा हुनुहुन्छ।

नेटवर्कको समस्याका कारण उहाँहरूलाई सम्पर्क गर्न भने समस्या नै हुन्छ।’ पहाडी गाउँपालिका मोहन्यालका जनप्रतिनिधि र कर्मचारी विकटताको समस्या देखाउँदै कार्यालयमा बस्दैनन्। कसैले धनगढी त कसैले बौनियामा कार्यालय खोलेका छन्। 

गाउँपालिकाको वेबसाईटमा नबल सिंह रावलको सम्पर्क नम्बर भनी ९८५८४२६४९९ राखिएको छ। उपाध्यक्ष पूजा देवी बुढामगरको सम्पर्क नम्बर ९७४९०१६०४० र नि.प्रमुख प्रशासकीय अधिकृत जयनन्द जैसी लेखेर ९८५८४२६७५९ उनको सम्पर्क नम्बर राखिएको छ। 

गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत हुन शिवराज वि.क। उनको सम्पर्क नम्बर ९८४८८४४८३३ तर उनीहरू कसैको नम्बरमा पनि फोन लाग्दैन।

लामो खिचातानीका बीच गाउँपालिकाको कार्यालय खिमडी तोकिएको छ। ‘ कार्यालयमा जनतालाई आवश्यक काम परेको बेलामा न कर्मचारी भेटिन्छन् न त जनप्रतिनिधि नै’ मोहन्याल–२ का स्थानीय मदन थापाले भने,‘काम परेर गाउँपालिका कार्यालय पुग्दा त्यहाँ कर्मचारी र जनप्रतिनिधि भेटिँदैनन् फोन गर्दा उनीहरूको फोन नै लाग्दैन।’

उनले एउटा नागरिकताको सिफारिस लिन ४ दिन लागेको बताए। त्यसका लागि कहिले लम्की त कहिले सुख्खड पुग्नु परेको उनले सुनाए। 

‘पालिकाको सामान्य सिफारिसकै लागि पनि कि धनगढी पुग्नु पर्छ हैन भने कर्मचारी र जनप्रतिनिधीहरुले बोलाएको ठाउँमा जानुपर्छ’ अर्का स्थानीय दीपेन्द्र बस्नेतले भने,‘हामीलाई स्थानीय सरकार आएको केही अनुभूति छैन।’

गाउँपालिकाको अहिले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा नारायण शर्मा छन्। तर पालिका अधिकृत विहीन बन्दा निमित्तको जिम्मेवारी पाएका जयनन्द जैसीको नाम र नम्बर भने अझै नि. प्रमुख प्रशासकीय अधिकृत भनेर सुरक्षित छ।

जबकि उनी आफ्नो कार्यक्षेत्र सुगरखाल स्वास्थ्य चौकीमा फर्किसकेका छन्। शर्मा प्रमुख प्रशासकीय अधिकृत कार्तिक २४ गतेबाट काम गर्ने गरी हाजिर भइसकेका छन्।

एक वर्ष अघि मोहन्याल गाउँपालिकाबाट सरुवा भइसकेका कम्प्युटर अपरेटर जागुराम चौधरीको नाम पनि वेबसाईटमा छ। 

करार अवधि सकिएका कर्मचारीका नाम पनि वेबसाईटबाट अझैँ हटाइएको छैन। जनचासोका सूचना तथा सन्देश र गाउँपालिकाका गतिविधि तथा जानकारी भने वेबसाईटमा अपडेट छैनन्।

कार्यकारी अधिकृत शर्माले कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना संक्रमण देखिएकाले समस्या भएको बताए। उनले भने,‘म पनि त्यहाँ नयाँ हुँ। कार्तिक २४ गते गएकोमा मंसीर ५ गते कोरोना देखिइहाल्यो अहिले होम आइसोलेसनमा छु।’

कोरोना संक्रमण पुष्टि भएका जनप्रतिनिधि र कर्मचारीलाई मात्र हैन। अन्य कर्मचारी र स्थानीयहरूलाई पनि फोन सम्पर्क नभइरहेको स्थानीयहरूको गुनासो छ।
 

मंसिर २१, २०७७ आइतबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।