बाल सुधारगृहलाई पुस्तक सहयोग

भैरहवा : महान्यायाधीवक्ताको कार्यालयमार्फत् उच्च सरकारी वकील कार्यालय, बुटवलले भैरहवामा रहेको बाल सुधार गृहलाई पुस्तक सहयोग गरेको छ।
शुक्रबार सुधार गृहमा आयोजित कार्याक्रममा बालबालिकालाई पठनपाठन र मनोरंजनका पुस्तक सहयोग गरिएको हो।
उच्च सरकारी वकील कार्यालय बुटवलका प्रमुख सह–न्यायाधीवक्ता मोहन सागर बस्यालले १ लाख ७ हजार ५ सय बराबर मूल्यका पुस्तक सुधार गृह प्रमुख शुभद्रा गौतमलाई हस्तान्तरण गरिएको जनाए।
पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अध्ययनले बालकहरुलाई सकारात्मक भावनाको विकास गरी सुध्रिने मौका प्रदान गर्ने जनाए।
‘कैद भुक्तान पछि पनि बालकहरु समाजमा सही तरिकाले स्थापित हुन पुस्तक अध्ययनले टेवा पुग्ने गर्छ’, उनले भने, ‘यसका लागि सुधार गृहमा सौहाद्र र उचित वातावरण हुनुपर्छ। बालकहरुलाई पठनपाठनमा लगाउन कर्मचारीसाथीहरुले सहयोग गर्नुपर्छ।’
उच्च सरकारी वकील कार्यालय प्रमुख बस्यालले महान्यायाधीवक्ताको कार्यालय र आफूहरुको निरन्तर प्रयास पछि सुधार गृहमा धेरै परिवर्तन आएको जनाउँदै थप व्यवस्थित गर्न सबैले सहयोग गर्नु पर्नेमा जोड दिए। उनले बालविजयीहरुको शिक्षामा कुनै किसिमको असर नपरोस् भनेर पुस्तक सहयोग गरिएको जनाए।
उच्च सरकारी वकिल कार्यालयका अनुसार सुधारगृहमा रहेका बालकहरुको अध्ययनका लागि फौजदारी, देवानी, मुलुकी अपराध संहिता, नियम संग्रह, साहित्य, कथा, कविता, उपन्यास, सफल व्यक्तिको जीवनी, धार्मिक, विभिन्न अंग्रेजी संग्रह र कक्षा ८, ९ का पुस्तक गरी २१५ थरीका पुस्तक हस्तान्तरण गरिएको हो। सुधारगृह प्रमुख गौतमकाअनुसार यहाँ ७८ जना बालविजयी थुनुवाहरु छन्।
मंसिर १९, २०७७ शुक्रबार १८:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।