भैरहवामा नगरस्तरीय ब्याडमिन्टन हुँदै

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ मा रहेको कुटुम्ब होटल प्रालि संचालनमा आएको एक वर्षको अवसर पारेर संचालकले नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएका छन्।
बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी होटल संचालकले खेल क्षेत्रको विकासमा थोरै भए पनि सहयोग पुगोस् भन्ने हेतुले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको जनाएका छन्।
होटल संचालक सुजन पाण्डेले लामो समय कोरोना महामारीले थला परेको होटल व्यवसाय र खेल क्षेत्रमा चलायमान गराउन ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको बताए।
प्रतियोगिता यही मंसीर २० गते भैरहवास्थित भैरहवा ब्याडमिन्टन क्लबमा हुनेछ। होटल संचालक पाण्डेले सामाजिक दूरी कायम गरी भातृत्व विकास गर्न ब्याडमिन्टन खेलले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भैरहवा ब्याडमिन्टन क्लबका कोषाध्यक्ष गणेश बहादुर क्षेत्रीले भैरहवा क्षेत्रमा व्याडमिन्ट खेल धेरै पहिलादेखि हुँदै आए पनि नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्न नसकिएको जनाए।
‘भैरहवामा सुविधा सम्पन्न कभर्ड हल हुँदाहुँदै पनि नयाँ पुस्तालाई ब्याडमिन्टन खेलप्रति ल्याउन नसक्नु विडम्बना हो’, उनले भने, ‘अब सबैले यसतर्फ ध्यान दिनुपर्ने छ। विद्यार्थीहरुलाई खेलप्रति लगाव बढाउन यस किसिमका कार्यक्रम पनि जरुरी छ।’
लामो समय रोकिएको खेल क्षेत्रलाई अगाडी बढाउन कुटुम्ब होटलले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताले थप टेवा पुग्ने उनको विश्वास छ। प्रतियोगितामा प्रथम हुनेले लिलिनको र्याकेट, झोला र ब्याडमिन्टनको ड्रेस सेट, तथा ट्रफी प्राप्त गर्नेछन्।
यस्तै, दोस्रोले हुनेले भीएसको र्याकेट र ड्रेस सेट तथा ट्रफी एवं तृतीयले ड्रेस सेट र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएका छन्। प्रतियोगितामा ३२ टिम सहभागी हुनेछन् भने एउटा टिममा २ जना खेलाडी हुनेछन्।
मंसिर १८, २०७७ बिहीबार १६:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।